संघीय संसदका दुवै सदनको बैठक आज, यस्तो छ कार्यसूची


काठमाडौं, असार २५ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछन्। हिजो निर्धारित कार्यसुची अनुसार सञ्चालन हुन नसेको बैठक आज बिहान ११ बजेलाई बोलाइएको हो। विपक्षी दलका सांसदको अभिव्यक्तिलाई लिएर स्थगित भएको बैठक पुनः सञ्चालन भए पनि केही विधेयक प्रस्तुत भएपछि १५ मिनेटका लागि स्थगित भएकोमा विशेष कारणबवश भन्दै सूचना टाँसेर स्थगित गरिएको थियो।

आजको बैठकमा हिजोकै कार्यसुचीमा रहेका महान्याधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश हुनेछ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयक २०८३ र नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ पेश गर्नेछिन्।

यसैबिच राष्ट्रियसभा बैठक दिउँसो सवा १२ बजे बस्ने तय भएको छ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजानिक खरिद दोस्रो संशोधन विधेयक २०८३, सम्पत्ति सुद्धिकरण मनि लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक २०८३, सहकारी पहिलो संशोधन विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशेधन गर्ने विधेयक २०८३ पेश गर्नेछन्।

यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्र्थिक विधेयक र राष्ट्र ऋण उठाउने दफावार छलफलका लागि पेश गरी पारित गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ।