६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले लिए शपथ


काठमाडौँ । मुलुकका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष नवनियुक्त उपकुलपतिहरूले शपथ ग्रहण गरेका हुन्।

शपथ ग्रहण गर्नेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नवीस मानसिंह प्रधान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. स्मृति कार्की रहेका छन्। यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. सूर्यमान मेन्याङबो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अजय कुमार मिश्रले पनि पदभार ग्रहणका लागि शपथ लिएका छन्।

सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठन गरेको छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई उपकुलपति पदमा नियुक्त गरेको हो। नयाँ कार्यविधिअनुसार भएको यो नियुक्तिसँगै प्रतिष्ठानहरूको प्रशासनिक तथा शैक्षिक नेतृत्वले पूर्णता पाएको छ।