विदेशी शैक्षिक कार्यक्रम नियमनमा सरकारको कडाइ


काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसई, आईबीडीपीलगायतका विदेशी शैक्षिक कार्यक्रमहरू अनुमतिबिना सञ्चालन गर्ने शिक्षण संस्थामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। मन्त्रिपरिषद्ले हालै विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३ स्वीकृत गरेसँगै मन्त्रालयले यो कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गरेको हो।

मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार केही शैक्षिक संस्थाहरूले मन्त्रालयको पूर्वस्वीकृति नलिई मनोमानी ढङ्गले विदेशी कार्यक्रमहरू चलाइरहेकाले उनीहरूलाई कानुनी दायरामा ल्याउन यो कदम चालिएको हो। मन्त्रालयले सूचना जारी गर्दै कसैले अनुमतिबिना यस्ता कार्यक्रम सञ्चालन गरेको थाहा पाएमा तीन दिनभित्र लिखित रूपमा मन्त्रालयमा जानकारी गराउन सरोकारवाला सबैसँग आग्रह गरेको छ।

विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित कार्यक्रमहरूको गुणस्तर सुधार, नियमन र उच्च शिक्षाको स्तर अभिवृद्धि गर्ने उद्देश्यले नयाँ नियमावली लागू गरिएको मन्त्रालयले जनाएको छ। अब उप्रान्त नयाँ मापदण्ड पूरा नगर्ने र अनुमति नलिने संस्थाहरूलाई अवैध ठहर गरी कारबाही प्रक्रिया अघि बढाइनेछ।