भक्तपुर । कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटी सारिएका सुकुम्बासीहरूको अवस्था निरीक्षण गर्न सरकारका पाँच मन्त्री खरिपाटी पुगेका छन्।
बाढी र डुबानका कारण कीर्तिपुरबाट विस्थापित भएका सुकुम्बासीहरूलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएपछि त्यहाँको बन्दोबस्त र वस्तुस्थिति बुझ्न मन्त्रीहरूको टोली आकस्मिक निरीक्षणमा निस्किएको हो। निरीक्षणका लागि गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता र श्रममन्त्री रामजी यादवलगायत मन्त्रीहरू खरिपाटी पुगेका हुन्।
खरिपाटी पुगेर मन्त्रीहरूले त्यहाँ आश्रय लिइरहेका नागरिकहरूको गाँस, बास र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
मन्त्रीहरू टोली नै बनाएर निरीक्षणमा पुगे पनि सरकारको कार्यशैलीप्रति भने चौतर्फी आलोचना सुरु भएको छ। सुकुम्बासीहरूलाई सुरक्षित र व्यवस्थित ठाउँमा राख्ने दाबी गरे पनि सरकारले अदूरदर्शी निर्णय गर्दा उनीहरूले झनै सास्ती खेप्नुपरेको गुनासो बढेको छ।
सुरुमा कीर्तिपुरको असुरक्षित र डुबानको जोखिम भएको क्षेत्रमा राख्नु र पछि फेरि विस्थापित गराएर खरिपाटी सार्नुले सरकारसँग विपद् व्यवस्थापन र सुकुम्बासी समस्या समाधानको कुनै स्पष्ट योजना नभएको भन्दै नागरिक स्तरबाट आलोचना भइरहेको छ। व्यवस्थित गर्ने नाममा सुकुम्बासी परिवारलाई पटक–पटक मानसिक र भौतिक दुःख दिने काम मात्र भएको पीडितहरूको गुनासो छ।



प्रतिक्रिया