संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने


काठमाडौं, असार २९ । संघीय संसदअन्तर्गतका चार समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । यस्तै, राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्नेछ ।

अर्थ समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट भएका मुख्य–मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको प्रगतिको अवस्थाबारे छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरिनेछ । छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपालकुमार चौधरी सहभागी हुने कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ बजे नै बस्नेछ । बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

यसैगरी, राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । उक्त बैठकमा मधेश प्रदेशमा गरिएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने कार्यसूची रहेको छ ।