संसदमा खगेन्द्र सुनारको गर्जन, भने – ‘दाइ भाउजूको हातखुट्टामा तेल लगाएर आएको हाेइन’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आत्मदाह गरेका मुगुका गणेश नेपालीलाई बचाउन गृहमन्त्रीसँगै आफू पनि गएर रातदिन अहोरात्र खटिएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्रीसँग आफूहरू गएर रातदिन अहोरात्र प्रयास गर्दा पनि गणेशलाई बचाउन नसकेको बताए ।

‘यसमा यति धेरै राजनीतिक, धेरै जातीय रङ्ग पोतियो, सदन र सडकमा पनि कहाँ गयो खगेन्द्र सुनार ? कहाँ गएको छ ? हिजो नेल लाएर आएको खगेन्द्र सुनार कहाँ गयो ? भनेर जताततै खोजेको मैले त्यहाँ पाएँ। यसलाई जातीय रूपमा भएको घटना मात्र होइन, मेरो घरको मान्छे, मेरो थरको मान्छे मर्‍यो, मलाई त्यसमा पीडा छ,’ उनले भने ।

उनले पीडित परिवारको जिम्मा सरकारले लिने बताए। त्यस्तै आफू कसैको हातखुट्टामा तेल लगाएर नआएको बताए ।

उनले भने, ‘हिजो नेल लगाएर आएको भनेर खोजिएको थियो। यहाँ छ खगेन्द्र सुनार! यो नेल लगाएर आएको खगेन्द्र सुनार हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको खगेन्द्र सुनार होइन।’

उनले सङ्घर्ष कति बेला गर्ने भन्ने थाहा भएकोसमेत बताए । ‘हामी नेल लगाएर आएको एउटा विद्रोहीलाई कति बेला विद्रोह गर्नुपर्छ, कति बेला विरोध गर्नुपर्छ भन्ने कुरा हामीले बुझेर आएका छौँ,’ उनले भने ।