कांग्रेसकी सांसदले भनिन् -‘ट्रोल बनेपछि आफैँले दुईपटक आत्महत्याको प्रयास गरे’


काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलियाले पछिल्लो समय आफैँले दुईपटक आत्महत्याकाे प्रयास गरेको बताएकी छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले संसद्‌मा दुई सांसदले राखेको कुरा ‘ट्रोल’ भएपछि विक्षिप्त बनेको बताइन्।

सरकारले कुरा नसुनेपछि आफूहरुले फरक शैलीमा संसदमा कुरा रोखेको उनले बताइन्। ‘सरकारले जबसम्म कान सुन्दैन हामी त्यो शैली अपनाउँछौँ । दुई माननीयले मात्रै होइन सयौँले एउटै कुरा राख्न सक्छौँ,’ उनले भनिन् ।

उनले त्यसलाई ट्रोल बनाउँदा आफू विक्षिप्त भएको बताइन् । ‘ट्रोल सहन नसकेर म एकदमै विक्षिप्त भएको थिएँ । यो अवधिभरि मैले आफैँले दुईपटक आत्महत्या गर्ने कोसिस पनि गरेँ । समाजिक सञ्जाल कस्तो हुँदैछ, कस्तो बनाउँदैछौँ भन्ने कुरा हामीले आफैँलाई मूल्यांकन गरौँ,’ उनले भनिन् ।

असार २६ गतेको प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापा र सांसद थपलियाले एउटै भाषण गरेका थिए । त्यसपछि सामाजिक सञ्जालमा दुइ सांसदको भिडियो भाइरल भइरहेको छ ।