काठमाडौं, असार ३१ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभा बैठक साउन १४ सम्मका लागि स्थगित गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकको अन्तिममा सभामुख अर्यालले ‘संसदीय बैठकको विश्रामलाई जनतासँगको विमर्शमा रूपान्तरण गर्न’ आग्रह गर्दै बैठक साउन १४ गतेसम्म स्थगित गरेका हुन् ।
यता विपक्षीहरूले भने रास्वपा सांसदहरूले आफ्नै सरकारको कामबारे विरोध गर्न थालेपछि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहको अनुरोधमा सभामुखले विश्रामको नाममा सांसदको आवाज बन्द गर्न खोजेको आरोप लगाएका छन्।
बैठक सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विपक्षी सांसदहरूले आफ्नै सांसदहरूले सरकारको विरोध गर्न थालेपछि विरोधका आवाज मत्थर पार्न बैठक स्थगित गरिएको दाबी गरे।
केही दिनअघिसम्म प्रधानमन्त्रीले संसदको रोस्ट्रममा उभिएर ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिँदासमेत टेबल ठोक्ने सांसदहरू यतिबेला सरकारको चर्को आलोचनामा उत्रिन थालेका छन्।
गत असार २२ गते प्रधानमन्त्री बालेन्द्र शाहलाईसमेत पार्टी सभापतिले फिर्ता बोलाउन सक्ने प्रावधानसहितको नयाँ विधान सार्वजनिक गरेपछि रास्वपा सांसदहरू एकाएक सरकारको विरोधमा बोल्न थालेका हुन्।



प्रतिक्रिया