गगन थापाको निर्देशन पर्खिरहेका छन् कोशीका मन्त्रीहरु


विराटनगर । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एकालेसँगको सत्ता साझेदारबाट पछि हट्ने तयारी गरेको । सोहीअनुरुप विभिन्न प्रदेशमा मन्त्री रहेकाहरुले धमाधम राजिनामा दिइरहेका छन् । यसैबीच कोशी सरकारबारे निर्णय लिन भन्दै कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक आज बसेको छ । बैठक केही निर्णय नगरी सम्पन्न भएकाे एक नेताले जानकारी दिए ।

कांग्रेस कोशी प्रदेश सभापति तथा दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, नेता तथा सांसद अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायतको उपस्थिति थियाे । बैठकमा सरकारको नेतृत्व गर्दै सरकारमा सहभागी रहेका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री प्रदीपकुमार सुनुवार भने उपस्थित थिएन ।

सरकारमा सहभागि मन्त्रीहरु काङ्ग्रेस सभापति गगन थापा नेतृत्वले दिएको निर्देशन नमान्ने अडानमा रहेको स्रोतले बतायो । यसैबीच रिपाेर्टस नेपालले मन्त्री सुनुवारसँग बुझ्दा आज कुनै विशेष बैठक नभएको बताए । ‘आज कुनै विशेष बैठक थिएन । बैठकले केही निर्णय नगरी सकिसकेको छ,’ उनले भने । त्यस्तै राजिनामा नदिने अडानमा हो ? भन्ने जिज्ञासामा उनले स्पष्ट जवाफ दिएनन् । उनले भने, ‘हामी केन्द्रको निर्णय पर्खिरहेका छौँ । केन्द्रको निर्णय आएपछि मात्रै हामी छलफल गर्छौँ ।’

सरकारमा काङ्ग्रेसबाट पूर्वाधार मन्त्री सुनुवारसहित स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् ।