काठमाडौं । शेयरबजारमा चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहीबार उतारचढावका बीच झिनो सुधार देखिएको छ । नेप्से परिसूचक ७.५० अंक (०.२८ प्रतिशत) ले बढेर २५९७.८० अंकमा बन्द भएको छ । अघिल्ला दुई दिन लगातार दोहोरो अंकले बढेको बजारले बिहीबार पनि वृद्धि त कायम राख्यो, तर उत्साह भने अघिल्ला दिनको तुलनामा फिक्का देखियो । बुधबार १४ अंकले बढेको बजारमा बिहीबार वृद्धिदर एकल अंकमा खुम्चिनुले लगानीकर्तामा ‘पर्ख र हेर’ को मनोविज्ञान हावी भएको संकेत गर्छ ।
परिसूचक सकारात्मक देखिए पनि बजारको भित्री बनोट (मार्केट डेप्थ) भने कमजोर देखियो । कारोबार भएका कम्पनीहरूमध्ये १२१ वटाको मात्रै मूल्य बढ्दा १५१ वटाको मूल्य घटेको छ, भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । सूचकलाई हरियो बनाउन मुख्य भूमिका ठूला र संस्थागत लगानीकर्ताको रोजाइमा पर्ने बैंकिङ, माइक्रोफाइनान्स र बीमा समूहको रह्यो ।
विशेष गरी माइक्रोफाइनान्स समूह १.२३ प्रतिशत र निर्जीवन बीमा १.११ प्रतिशतले बढ्दा जलविद्युत्, होटल तथा पर्यटन र फाइनान्स समूहमा भने गिरावट आयो । यसले लगानीकर्ताहरू नाफा सुरक्षित गर्न र तुलनात्मक रूपमा सुरक्षित मानिने क्षेत्रमा रकम सार्न लागिपरेको देखाउँछ । बिहीबार कुल ३९ हजार ५ सय ९५ पटकको कारोबारमा ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको ९४ लाख ६९ हजार ९९ कित्ता शेयर किनबेच भयो, जसलाई औसत कारोबार मान्न सकिन्छ ।
बजारमा बिहीबार देखिएको सुस्तताको मुख्य कारण भोलि (शुक्रबार) देखि लागू हुने नयाँ आर्थिक वर्ष २०८३/८४ र यससँगै परिवर्तन हुने पूँजीगत लाभकरको व्यवस्था हो । सरकारले बजेटमार्फत शेयर बिक्रीमा लाग्ने लाभकर वृद्धि गरेको छ, जसको नयाँ दर भोलिदेखि कार्यान्वयनमा आउँदैछ ।
बिहीबारसम्म शेयर बिक्री गर्दा पुरानै सस्तो दरमा कर तिर्न पाइने भएकाले धेरै लगानीकर्ताले आजै आफ्नो नाफा बुक गर्ने (शेयर बेचेर बाहिरिने) रणनीति लिए । यही बिक्री चापका कारण बजार सुरुवाती समयमा बलियो देखिए पनि अन्तिमतिर वृद्धिदर संकुचित हुन पुग्यो ।
कम्पनीगत रूपमा हेर्दा फस्र्ट माइक्रोफाइनान्सको शेयर मूल्यमा १४.६७ प्रतिशतको उछाल आयो । त्यस्तै चिरख्वा हाइड्रोपावर (१४.३४%) र पियोर इनर्जी (१३.९७%) का लगानीकर्ताले पनि राम्रो कमाए । यता कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले भने सबैभन्दा धेरै ८.७७ प्रतिशत गुमाए । कारोबार रकमका आधारमा सिंगटी हाइड्रो इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर र रिडी पावर अग्रस्थानमा रहे । बिहीबारको बजारले एउटा स्पष्ट चित्र कोरेको छ- लगानीकर्ताहरू नीतिगत परिवर्तनलाई लिएर निकै सचेत छन् । भोलिदेखि करको भार वृद्धि हुने भएपछि आज बजारमा खरीद र बिक्री दुवै पक्ष उत्तिकै सक्रिय देखिए ।



प्रतिक्रिया