के फेरि जोडिन लागेका हुन् त कम्युनिष्ट घटक ?


काठमाडौँ । सङ्घीय संसद्मा समीकरणको जोडघटाउ सकिएर सत्ताको केन्द्रबिन्दुबाट बाहिरिएपछि नेपाली कम्युनिष्ट राजनीतिमा पुनः नयाँ तरङ्ग पैदा भएको छ। रास्वपाको भारी जितसँगै केन्द्रमा सत्ता गुमेपछिको छट्पटी र प्रदेश सरकारहरूमा अस्तित्व जोगाउने दबाबका बीच वामपन्थी घटकहरूबीच पुनः आन्तरिक संवाद र सामीप्यता बढ्न थालेको छ।

यसैक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालबीच भएको पछिल्लो संवादलाई प्रदेश राजनीतिमा शक्ति सन्तुलन मिलाउने र नयाँ सत्ता समीकरण निर्माण गर्ने गम्भीर रणनीतिक तानाबानाका रुपमा हेरिएको छ।

श्रीलंका भ्रमणबाट फर्किएलगत्तै दाहालले देखाएको राजनीतिक सक्रियताले वाम वृत्तमा नयाँ समीकरणको चर्चालाई उत्कर्षमा पुर्‍याएको छ। अस्वस्थ रहेका सहसंयोजक माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुग्नु र लगत्तै पार्टीका दोस्रो तहका नेताहरूसँग सघन छलफल गर्नुले सत्ता गुमेपछिको विकल्पको खोजी तीव्र भएको पुष्टि गर्छ।
दाहाल श्रीलंकामा रहँदा नै माधव नेपालले नेताहरू वर्षमान पुन र प्रमेश हमाललाई संवादको जिम्मा दिएका थिए। ती नेताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चरणबद्ध संवाद चलाए पनि कांग्रेस सभापति गगन थापासँगको संवाद निष्कर्षविहीन हुनुले कम्युनिष्ट घटकहरूतर्फको झुकाव बढाएको देखिन्छ।
कांग्रेससँगको सम्भावित सहकार्यको सम्भावना टर्दै जाँदा र एमाले–कांग्रेसको अघोषित समझदारीमा दरार आउँदा एमाले र नेकपाका नेता–कार्यकर्ताहरू पुनः एक ठाउँमा उभिनुपर्ने बहस चुलिएको हो ।
पार्टीका तल्लो तहका कार्यकर्ताहरूबाट आएको ‘कम्युनिष्ट आन्दोलन र अस्तित्व जोगाउन’ एक हुनुपर्ने दबाबलाई मुख्य आधार बनाएर शीर्ष नेतृत्व एमालेसँग निर्णायक संवाद गर्न तयार भएको छ। दाहाल–नेपाल भेटपछि अब एमाले अध्यक्ष ओलीसँग हुने भनिएको भेटले प्रदेश सरकारहरूको भावी दिशानिर्देश गर्ने जनाइएको छ ।
केन्द्रमा शक्ति गुमे पनि प्रदेश स्तरमा कम्युनिष्ट घटकहरू मिल्दा धेरैजसो प्रदेशमा सरकार बनाउने वा निर्णायक स्थितिमा रहने गणितीय आधार कायमै छ।

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा नेताहरू सत्ताबाट बाहिरिएपछि वा सङ्कटमा परेका बेला मात्र कम्युनिष्ट एकता र जनाधारको दुहाइ दिने परिपाटी पुरानै हो। अहिले प्रदेश स्तरमा देखिन थालेको यो सामीप्यता पनि कुनै वैचारिक पुनर्जागरणभन्दा बढी सत्ता र शक्ति सन्तुलनको तात्कालिक आवश्यकतासँग जोडिएको छ।

यदि एमाले अध्यक्ष ओलीसँगको भेटवार्ता सकारात्मक बनेमा प्रदेशहरूमा कम्युनिष्ट घटकहरुबीचको नयाँ समीकरण बन्नेछ। तर, विगतका तीता अनुभव र नेताहरूबीचको व्यक्तिगत अविश्वासलाई पन्छाउँदै यो सहकार्य कत्तिको दिगो हुन्छ भन्नेचाहिँ भविष्यले नै बताउनेछ ।