विचारभन्दा गुट प्यारो: बीपी जयन्तीमै छताछुल्ल कांग्रेस विवाद


काठमाडौँ । नेपाली राजनीतिमा विचार र निष्ठाका प्रतीक मानिने जननायक बीपी कोइरालाको स्मृति दिवस मनाउने क्रममा देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ। स्थापनाकालदेखि नै विभिन्न वैचारिक तथा गुटगत उतारचढाव झेल्दै आएको कांग्रेस यसपटक बीपी स्मृति दिवसकै अवसरमा स्पष्ट रूपमा दुई ध्रुवमा विभाजित देखिएको छ।
बुधबार संस्थापन र संस्थापनइतर पक्षले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेपछि कांग्रेस कार्यकर्तामाझ पार्टीको भविष्यलाई लिएर थप चिन्ता र अन्यौल छाएको छ।
संस्थापन पक्षले बुधबार बिहान जलवायु परिवर्तनप्रति जनचेतना फैलाउने उद्देश्यले ‘ग्रिन रन’ प्रतियोगिताको आयोजना गरेर औपचारिक दिवस मनायो। तर, अर्कोतर्फ संस्थापनइतर पक्षले भने काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा छुट्टै विचार गोष्ठी तथा स्मृति सभाको आयोजना गर्‍यो।
प्रज्ञा भवनको कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला र मोहनबहादुर बस्नेतलगायतका शीर्ष नेताहरूको उपस्थिति थियो। बीपी स्मृति दिवस मनाउने विषयमा समेत दुई समूहबीच सहमति जुट्न नसक्नुलाई राजनीतिक विश्लेषकहरूले पार्टी औपचारिक विभाजनको सङ्घारमा पुगेको सङ्केतका रूपमा लिएका छन्।
गत साउन ३ गते चुनदेवीस्थित सम्पर्क कार्यालयमा निवर्तमान कार्यबाहक सभापति खड्काको संयोजकत्वमा बसेको इतर समूहको बैठकले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको थियो। सोही बैठकले पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा मूल आयोजक समितिसमेत गठन गरेको थियो।
इतर समूहले साउन महिनाभित्रै ‘राष्ट्रिय भेला’ बोलाउने निर्णय गरिसकेको छ। यद्यपि भेलाको अन्तिम मिति भने तय हुन बाँकी छ। प्रज्ञा भवनको मञ्चलाई उपयोग गर्दै इतर समूहले राष्ट्रिय भेलाको मिति औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेको जनाइएको छ।
कांग्रेसभित्र अहिले चर्किएको मुख्य विवाद ‘नियमित कि विशेष’ महाधिवेशन भन्ने विषयमा केन्द्रित छ। संस्थापन पक्ष र इतर समूहबीच सिद्धान्तभन्दा पनि पदीय शक्ति सन्तुलन र आगामी महाधिवेशनको वैधानिकतालाई लिएर मुख्य असमझदारी देखिएको छ।
इतर समूहको आरोप छ- ‘संस्थापन पक्ष अनौपचारिक संवादमा एकताका लागि सहमति जनाएजस्तो गर्छ, तर व्यवहारमा भने लगातार पेलेर जाने रणनीतिमा छ।’
यसैबीच, पार्टीलाई सम्भावित फुटबाट जोगाउन र सहमति कायम गर्न इतर पक्षले संस्थापनसमक्ष पाँचबुँदे प्रस्ताव अघि सारेको छ। तर, ती प्रस्तावहरूमाथि अहिलेसम्म गम्भीर छलफल भने हुन सकेको छैन।
इतर समूहले अघि सारेका मुख्य शर्तहरू यस्ता छन्–

–१४ औँ महाधिवेशन र विशेष महाधिवेशनका दुवै कार्यसमितिलाई समायोजन गर्दै गगन थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिइनुपर्ने,

पार्टी सभापतिको स्पष्ट बहुमत रहने गरी शक्तिशाली कार्यसम्पादन समिति गठन गरिनुपर्ने,

–पुनर्गठित कार्यसमितिको पहिलो बैठकबाटै १५ औँ महाधिवेशनको स्पष्ट कार्यतालिका घोषणा हुनुपर्ने,

–यसअघि नै टुङ्गिइसकेका क्रियाशील सदस्यहरूलाई स्वतः सहभागी गराइने वातावरण बन्नुपर्ने,

– र, क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रियालाई नवीकरणको कडा शर्तका रूपमा तेर्स्याउन नहुने।

बीपीले छाडेर गएको विचार र साङ्गठनिक विरासत जोगाउनुको सट्टा शीर्ष नेताहरू आ–आफ्नो शक्ति प्रदर्शनमा अल्झिँदा कांग्रेस पुनः एकपटक गम्भीर राजनीतिक र साङ्गठनिक सङ्कटको डिलमा उभिन पुगेको छ। विवाद चुलिँदै जाँदा अन्ततः पार्टी फुट्न सक्ने राजनीतिक विश्लेषकहरुको आँकलन छ ।