काठमाडौ । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस फुटको सँघारमा पुगेको छ । बुधबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी कांग्रेसका संस्थापक नेता बिपि कोइरालाको ४४ औं स्मृति दिवस मनाएको कांग्रेसले औपचारिक रूपमा फुट्न लागेको स्पष्ट सन्देश दिएका छन् ।
संस्थापन पक्षले युएन पार्क देखी जावलाखेलसम्म ‘ग्रीन रन’लगायतका कार्यक्रमको आयोजना गरिएको थियो भने संस्थापनइतर पक्षले प्रज्ञा भवनमा भेला गरेका थिए ।
प्रज्ञाप्रतिष्ठानमा इतरपक्षले आयोजना गरेको कार्यक्रममार्फत राष्ट्रिय भेलाको घोषणा गरेको छ । कार्यक्रमका संयोजक तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले साउन २९ गते राष्ट्रिय भेला बोलाएको घोषणा गरेका हुन्।
‘‘हाम्रो राष्ट्रिय भेला साउन २९ गते हुन्छ। काठमाडौंमा हुन्छ। यो थ्रेट होइन। काम गरेर देखाउने हो। हिजो पनि देखाएको हो,’ उनले भने।
यस्तै, उक्त कार्यक्रममा कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राजनीतिबाट निष्क्रिय नबस्ने भन्दै युवालाई अघि सारेर हिँड्न तयार रहेको बताए। ‘कोही पनि निष्क्रिय बस्नेवाला छैनौँ। हामी युवालाई अघि सारेर युवाहरूको रक्षा कवज भएर हिँड्न तयार छौं। कहिँ पनि भ्रम नहोस्,’ खड्काले भने ।
खड्का त्यत्तिमै अड्केनन् । उनले पार्टी एकता वा विभाजनको जिम्मेवारी अहिले सभापति थापाकै काँधमा रहेकोसमेत बताए । ‘१४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका संरचनाबीच समन्वय गरिए कांग्रेस एक हुन्छ। १५औँ महाधिवेशन निष्पक्ष र स्वतन्त्र हुने सुनिश्चितता दिन सक्नुभयो भने एकता सम्भव छ,’ उनले भने ।
इतर समूहले आयोजना गरेको कार्यक्रममा अधिकांश नेताले सभापति गगन थापाले एकलौटी निर्णय गरेको बताउँदै अब चुप भएर बस्न नहुने बताएका थिए । उनीहरूले नयाँ विकल्पमा जानुपर्ने बाध्यता देखिएको बताए ।
यता, सभापति गगन थापाले भने विधानविपरीत हुने गरी कार्यसमिति समायोजन सम्भव नरहेको यसअघि नै बताइसकेका छन् । उनका अनुसार सदस्यता अद्यावधिकलगायत विषयमा छलफल गर्न सकिए पनि कार्यसमिति पुनर्संरचना विधानअनुकूल नभएको स्पष्ट पारे ।
दुवै पक्ष आफ्नो-आफ्नो अडानबाट पछि नहटेकाले इतर पक्षले साउन २९ गते घोषणा गरेको राष्ट्रिय भेलाले अन्ततः नेपाली कांग्रेसलाई औपचारिक रूपमा दुई धारमा विभाजित गर्ने संकेत देखिएको छ।




प्रतिक्रिया