काठमाडौं, साउन ७ । झापाको दमकमा कार, साइकल र मोटरसाइकल एकापसमा ठोक्किँदा एक साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका–४ भाइरल रोडस्थित सङ्गम चोकको भित्री सडकखण्डमा आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ गइरहेको साइकललाई सामान्य ठक्कर दिएको थियो।
कारको ठक्करपछि साइकल अनियन्त्रित भई लडेपछि पछाडिबाट आइरहेको प्रदेश १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलले समेत साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दमक नगरपालिका–३ निवासी ५३ वर्षीय रणबहादुर विष्ट गम्भीर घाइते भएका थिए । टाउको, दुवै हात र खुट्टामा गम्भीर चोट लागेका विष्टको उपचारका क्रममा बिहीबार बिहान बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–८ निवासी ४६ वर्षीय दुर्गाबहादुर बस्नेत घाइते भएका छन। उको निधार, दुवै हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया