काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी, पहिरो, डुबान, चट्याङ र सर्पदंश जस्ता जोखिम उच्च रहने भएकाले आम नागरिकलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ।
प्राधिकरणले यात्रा गर्नुअघि अनिवार्य रूपमा मौसम र सडकको अवस्थाबारे जानकारी लिन तथा मुसलधारे वर्षा भइरहेका बेला सकेसम्म रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ। बाढी आएको समयमा खोला-खोल्सा नतर्न, काठ-दाउरा टिप्न, माछा मार्न वा पौडी खेल्न नदीमा नजान र जोखिमयुक्त पहिरो क्षेत्र आसपास नहिँड्न ध्यानाकर्षण गराइएको छ।
जोखिमयुक्त पुल वा नदी किनारमा उभिएर फोटो/भिडियो नखिच्न, हाइकिङमा एक्लै नजान र विपद्को सङ्केत देखिनेबित्तिकै सुरक्षित स्थानमा गएर स्थानीय प्रशासन वा सुरक्षाकर्मीलाई खबर गर्न प्राधिकरणले भनेको छ।
घरवरिपरिको नाली सफा राख्न, सर्पदंशबाट बच्न रातको समयमा टर्च लाइट प्रयोग गर्न र चट्याङ पर्न लागेमा तत्काल सुरक्षित ओतमा जान आग्रह गरिएको छ। साथै, नागरिकलाई महत्त्वपूर्ण कागजात, अत्यावश्यक औषधि, सुक्खा खानेकुरा, पर्याप्त ब्यालेन्स र चार्ज भएको मोबाइल तयारी अवस्थामा राख्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरिएको छ।




प्रतिक्रिया