सलमान खान उभिए ककरोचको पक्षमा


काठमाडौं । बलिउड अभिनेता सलमान खान जन्तरमन्तरमा विद्यार्थीमाथि भएको हिंसाविरुद्धमा बोल्ने  पहिलो फिल्मी सुपरस्टार बनेका छन् । उनले विद्यार्थीमाथि भएको हिंसाको कडा निन्दा गरेका छन् । 

सलमानले उनीहरूको विरोधलाई जायज भनेका छन् । सलमानले सरकारले चाँडै नै उनीहरूलाई सहयोग गर्ने र शिक्षा प्रणालीमा सुधार हुने आशा व्यक्त गरेका छन् । सलमानले यो विद्यार्थी र शिक्षाको मात्रै मुद्दा भएको भन्दै यसलाई राजनीतिकरण गर्ने कुनै प्रयास नगर्न आग्रह गरेका छन् । 

“यो अत्यन्तै शान्तिपूर्ण विरोध प्रदर्शन थियो । यसलाई हिंसात्मक रूप लिँदै गरेको देख्दा अत्यन्तै दुःख लागेको छ । यस विरोध प्रदर्शनमा घाइते भएका विद्यार्थी र उनीहरूका परिवारप्रति मेरो गहिरो समवेदना छ,” सलमानले इन्स्टाग्राम अकाउन्टमा आफ्नो स्कुले दिनको तस्बिर सेयर गर्दै लेखेका छन्, “पेपर लिक एकदमै गम्भीर मुद्दा हो । हाम्रो देशका विद्यार्थीहरू राम्रो शिक्षा प्रणालीको माग गर्न एकसाथ आउनु खुसीको कुरा हो । उनीहरूका अभिभावकहरूले पनि समर्थन गरेका छन् ।”

सलमानले विद्यार्थीको यो कदमको प्रशंसा गरेका छन् । अध्ययनको माध्यमबाट आफ्नो भविष्य निर्माण गर्न उनीहरूले देखाएको समर्पण, इमानदारी र कडा परिश्रम प्रशंसनीय रहेको उनको भनाइ छ । यो युवा पुस्ताले शिक्षित र बलियो भारत निर्माण गर्ने र देशको गौरव बढाउने उनले बताएका छन् । 

“यो मुद्दा विद्यार्थी र शिक्षा प्रणालीबीचको हो । यसलाई राजनीतिकरण गर्नु हुँदैन । यसको श्रेय हाम्रो देशका विद्यार्थीलाई मात्र जानुपर्छ,” उनले लेखेका छन्, “मलाई विश्वास छ कि, सरकारले उनीहरूलाई सहयोग गर्नेछ र हाम्रो शिक्षा प्रणालीलाई बलियो बनाउन सकारात्मक कदम चाल्नेछ । यो सबैको लागि विन–विनको अवस्था हुनेछ ।” 

सलमानको उक्त पोस्ट आन्दोलनको नेतृत्व गरिरहेको ककरोच जनता पार्टीले सेयर गरेको छ । दैनिक भास्कर