काठमाडौं, साउन ७ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को जारी त्रिकोणात्मक सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो । यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो ।
जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेदरल्यान्ड्सको लाफी कप्तान स्कट एडवार्डसले अर्धसतक बनाए । उनले ८९ बलमा २ चौका र एक छक्काको मद्दतमा नटआउट ६१ रन बनाए । यस्तै नोअ क्रोएसले नटआउट ३४ रन बनाउँदा सेड्रिक डी लान्गे र जाच लियोन-काचेटले समान २१/२१ रन बनाए । नेपालको लागि सोमपाल कमी, दीपेन्द्र सिंह एरी र ललित राजवंशीले समान एक/एक विकेट लिए ।
यसअघि स्पोर्ट्पार्क मार्स्चलकेर्वेर्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४४.४ ओभरमा अलआउट हुँदै १ सय ५७ रनमात्र बनाएको थियो । नेपालको लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । आरिफले ९० बलमा ४ चौका हिर्काए । यस्तै गुलसन झाले ४२ बलमा २ छक्का र १ चौकाको मद्दतमा २९ रन बनाउँदा दीपेन्द्र सिंह एरीले २१, आसिफ शेखले १४, करण केसीले नटआउट १३ र सोमपाल कामीले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेदरल्यान्ड्सको लागि एलेक्स रोए र रोएलोफ भान डेर मेर्वेले समान तीन/तीन विकेट लिँदा लोगान भान बिकले २ र केल क्लेइनले एक विकेट लिए । जितसँगै नेदरल्यान्ड्स २९ खेलबाट ३४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा यथावत रहेको छ भने एक खेल बढि खेल्दै २४ अंक जोडेको नेपाल पाँचौ स्थानमा रहेको छ ।




प्रतिक्रिया