काठमाडौं । रुपिज इन्टरनेसनल स्कुलद्वारा आयोजित तीनदिने `रुपिज मोडल युनाइटेड नेसन्स´ शुक्रबारदेखि सुरु भएको छ। कार्यक्रम साउन ८ देखि ११ गते (जुलाई २४–२६) सम्म सञ्चालन हुने आयोजक स्कुलले जनाएको छ ।

कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीहरूले संयुक्त राष्ट्रसंघ (UN) का सदस्य राष्ट्रहरूको प्रतिनिधि (डेलिगेट) को भूमिका निर्वाह गर्दै समसामयिक अन्तर्राष्ट्रिय मुद्दामाथि छलफल, बहस तथा कूटनीतिक अभ्यास गर्नेछन्। यस कार्यक्रमले विद्यार्थीहरूको बहस क्षमता, कूटनीतिक सोच, नेतृत्व विकास तथा संयुक्त राष्ट्रसंघका गतिविधि र विश्वव्यापी मुद्दाबारे ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।

उद्घाटन समारोहका प्रमुख अतिथि डा. सन्तोष खड्का तथा विशिष्ट अतिथि अरुणा श्रेष्ठ र आयोजक स्कुलका निर्देशक रुपि सिंहले विद्यार्थीहरूलाई विश्वस्तरीय सोच, नेतृत्व क्षमता र संवाद संस्कृतिको विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।

सम्मेलनलाई सेक्रेटरी जनरल प्रिन्स प्रसिद सिंह थापा तथा डेपुटी सेक्रेटरी जनरल समवीर सिंह गान्धीले सम्बोधन गर्दै सहभागी विद्यार्थीहरूलाई सक्रिय, रचनात्मक र जिम्मेवार ढंगले छलफलमा सहभागी हुन आग्रह गरे ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न समिति मार्फत संयुक्त राष्ट्रसंघमा उठाइने विविध अन्तर्राष्ट्रिय विषयमा छलफल, बहस तथा प्रस्ताव प्रस्तुत गरिनेछ ।





प्रतिक्रिया