करेसाबारीबाट ‘रस्टी–स्पटेड क्याट’ संरक्षणको प्रयास


काठमाडौँ, १० साउन । विश्वकै सबैभन्दा सानो जङ्गली बिरालो ‘रस्टी–स्पटेड क्याट’ अर्थात् खिया थोप्ले बिरालोको संरक्षणलाई स्थानीय समुदायको जीविकोपार्जनसँग जोड्ने उद्देश्यले बर्दियामा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरिएको छ ।

ठाकुरबाबा नगरपालिका–९, खुशालपुरमा आयोजित कार्यक्रममा १४ जना स्थानीय सहभागी भएका थिए । उनीहरूलाई प्राङ्गारिक तरकारी खेती, कम्पोस्ट मल निर्माण, माटो व्यवस्थापन तथा दिगो कृषि अभ्याससम्बन्धी एकदिने तालिम प्रदान गरिएको थियो । तालिमपछि प्रत्येक सहभागीलाई कृषि औजार र मौसमी तरकारीका बीउबिजन पनि वितरण गरिएको आयोजकले जनाएको छ ।

‘स्मल वाइल्ड क्याट कन्जर्भेसन फाउन्डेसन’, मोहम्मद बिन जायेद स्पिसिज कन्जर्भेसन फन्ड र ‘रस्टी–स्पटेड क्याट वर्किङ ग्रुप बर्दिया’को सहयोगमा सञ्चालन गरिएको हो । कार्यक्रमको संयोजन रामजन चौधरीले गरेका थिए भने पशुचिकित्सक अशिष चौधरीले प्रशिक्षण दिएका थिए ।

आयोजकका अनुसार घरघरमा करेसाबारीको विकास भए वनजन्य स्रोतमा निर्भरता घट्ने, वन क्षेत्रमा मानव चाप कम हुने र त्यसबाट वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले वन डढेलोको जोखिम घटाउन, अवैध सिकार न्यूनीकरण गर्न तथा रस्टी–स्पटेड क्याटका आहारा प्रजातिको संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।

रस्टी–स्पटेड क्याट नेपाल, भारत र श्रीलङ्कामा मात्र पाइने दुर्लभ जङ्गली बिरालो हो । यसको शरीरको लम्बाइ ३५ देखि ४८ सेन्टिमिटर र तौल शून्य दशमलव नौदेखि एक दशमलव छ किलोग्रामसम्म हुन्छ ।  रिरभरि रहेका खिया रङका साना थोप्लाका कारण यसलाई ‘खिया थोप्ले’ बिरालो पनि भनिन्छ ।

यो बिरालो मुख्यतः राति सक्रिय हुने, एक्लै बस्ने र अत्यन्त लजालु स्वभावको हुन्छ । मुसा, साना स्तनधारी जनावर, चराचुरुङ्गी, छेपारो, भ्यागुता तथा कीराफट्याङ्ग्राहरू यसको मुख्य आहारा हुन् । संरक्षणकर्मीका अनुसार मुसाको सङ््ख्या नियन्त्रणमार्फत पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न यस प्रजातिले महत्वपूर्ण भूमिका खेल्छ ।

कार्यक्रम संयोजक रामजन चौधरीका अनुसार विसं २०६९ मा बर्दिया राष्ट्रिय निकुञ्जमा यस प्रजातिको पहिलो पटक तस्बिरसहित अभिलेखीकरण गरिएको थियो । तालिम सञ्चालन भएको खुशालपुर क्षेत्र सोही आसपास पर्ने भएकाले स्थानीय समुदाय रस्टी–स्पटेड क्याट संरक्षणको महत्वपूर्ण साझेदार रहेको उनले बताए।

तालिमका क्रममा सहभागीलाई वन डढेलो नियन्त्रण, अवैध सिकार रोकथाम, वन्यजन्तुको सडक दुर्घटना न्यूनीकरण तथा प्राकृतिक बासस्थान संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गरिएको थियो । रासस