इरानमाथि थप आक्रमण नगर्ने वासिङ्टनको सङ्केत


काठमाडौं। अमेरिकाले हालका लागि इरानविरुद्धको सैन्य आक्रमण थप नबढाउने निर्णय गरेको छ। अमेरिकी प्रमुख सञ्चारमाध्यम ‘द न्यूयोर्क टाइम्स’, ‘सीएनएन’ र ‘एसोसिएटेड प्रेस’ (एपी) ले जनाएअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही रोक्दै स्थिति साम्य पार्ने रणनीति लिएका हुन्।

यद्यपि, ह्वाइट हाउसले भने यी समाचारबारे औपचारिक पुष्टि गरिसकेको छैन। ह्वाइट हाउसका प्रवक्ताहरूका अनुसार राष्ट्रपति ट्रम्पले सधैं सैन्य टकरावभन्दा कूटनीतिक समाधानलाई नै प्राथमिकता दिँदै आएका छन्।

गत शुक्रबार राति अमेरिकाले इरानमाथि हवाई आक्रमण गरेको थियो। त्यसयता शनिबार राति भने कुनै नयाँ अमेरिकी आक्रमण नभएको र स्थिति शान्त रहेको खबर सार्वजनिक भएका छन्।

सञ्चारमाध्यमका अनुसार ट्रम्प प्रशासनले शुक्रबार नै यो निर्णय गरेको हो। यस निर्णयका पछाडि अमेरिकाको प्याट्रियट हवाई प्रतिरक्षा मिसाइलको मौज्दात घट्दै जानुलाई एउटा प्रमुख कारण मानिएको छ।

यसका साथै, खाडी क्षेत्रमा रहेका अमेरिकाका साझेदार अरब मुलुकहरू सम्भावित युद्धका कारण असन्तुष्ट हुन सक्ने चिन्ताले पनि वासिङ्टनलाई थप सैन्य कदम चाल्नबाट रोकेको विश्लेषण गरिएको छ।