अबको पुस्ताले नेपालमै निःशुल्क शिक्षा र स्वास्थ्य पाउनुपर्छ : ऋषि धमला


काठमाडौं । वरिष्ठ पत्रकार तथा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ का संयोजक ऋषि धमलाले शिक्षामा भइरहेको राजनीतिक हस्तक्षेप अन्त्य गर्न राजनीतिक दलहरूलाई सुझाव दिएका छन् । काठमाडौंको मोडर्न नेपाल कलेजले आज(आइतबार)आयोजना गरेको कार्यक्रममा बोल्दै धमलाले शिक्षा क्षेत्रलाई सुधार नगरी देशको विकास सम्भव नहुने बताए ।

उनले गरिब, निमुखा,असहाय तथा आर्थिक अवस्था कमजोर भएका नागरिकका छोराछोरीले पनि सहज रूपमा शिक्षा पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए । धमलाले अबको पुस्ताले नेपालमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क पाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै धमलाले भने, “शिक्षामा राजनीति अन्त्य हुनुपर्छ । गरिब, निमुखा,असहाय जनताका छोराछोरीले पनिपढ्न पाउनुपर्छ । अबको पुस्ताले नेपालमै शिक्षा र स्वास्थ्य निःशुल्क पाउनुपर्छ ।” उनले शिक्षा र स्वास्थ्यलाई राज्यको मुख्य प्राथमिकतामा राख्नुपर्ने बताए ।

देश निर्माणका लागि राजनीतिक नेतृत्व जनताको पक्षमा उभिनुपर्ने उनले बताए । धमलाले भने, “देश बनाउनका लागि सत्ता र स्वार्थभन्दा माथि उठेर जनताको पक्षमा उभिने नेतृत्व आवश्यक छ ।”