ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै


वासिङ्टन, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग मङ्गलबार ह्वाइट हाउसमा छुट्टाछुट्टै उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । युक्रेन युद्ध, इरानसँगको तनाव तथा पश्चिम एसियाको सुरक्षा अवस्था यी भेटवार्ताका मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्प–जेलेन्स्की भेटवार्ता मुख्य रूपमा रुस–युक्रेनबीच जारी शान्ति प्रक्रियामा केन्द्रित हुनेछ । अधिकारीले अब युद्ध अन्त्य गर्ने समय आएको धारणा व्यक्त गरेका छन् ।

उता, ट्रम्प र नेतान्याहुबीचको वार्तामा इरानसँगको द्वन्द्व, इजरायल–लेबनान वार्ताको प्रगति तथा अब्राहम सम्झौता विस्तारका विषय प्राथमिकतामा रहनेछन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानका केही विषयमा नेतान्याहुसँग सामान्य मतभेद भए पनि दुवै देशबीचको गठबन्धन अत्यन्त निकट रहेको बताएका छन् ।

यसअघि सोमबार नेतान्याहु उच्चस्तरीय वार्ताका लागि वासिङ्टन पुगेका थिए । प्रस्थानअघि उनले इरानबाट उत्पन्न सुरक्षा चुनौती नै आफ्नो भ्रमणको प्रमुख विषय हुने स्पष्ट पार्दै इजरायलको सुरक्षा सुदृढ गर्नु र क्षेत्रीय शान्तिको दायरा विस्तार गर्नु भ्रमणको उद्देश्य रहेको बताएका थिए ।

यो भेट ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि उनी र नेतान्याहुबीच हुने आठौँ आमनेसामने द्विपक्षीय बैठक हो र यो भेटले वासिङ्टन र जेरुसेलमबीचको घनिष्ठ समन्वयलाई थप पुष्टि गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, ट्रम्पले जेलेन्स्कीले लगाएको रुसले इरानलाई अमेरिकी सैन्य अड्डामाथि आक्रमण गर्न खुफिया सूचना उपलब्ध गराएको आरोपलाई तत्काल स्वीकार गर्न अस्वीकार गरेका छन् । उनले त्यस्तो गतिविधि उच्च तहबाट भएको आफूलाई नलागेको बताउँदै आवश्यक परे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यसबारे प्रत्यक्ष सोध्ने जानकारी दिएका छन् ।

जेलेन्स्कीले मस्कोले इरानलाई अमेरिकी सैन्य चौकी तथा खाडी क्षेत्रका पूर्वाधारमाथि आक्रमण गर्न स्याटेलाइटमार्फत खुफिया सूचना उपलब्ध गराएको आरोप लगाएका थिए । उनले रुसले आफ्नो सैन्य क्षमता सुदृढ बनाउन उत्तर कोरियाबाट ३० हजार सैनिक परिचालन गर्ने तयारी गरिरहेको दाबी पनि गरेका छन् ।

एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमता कमजोर बनाएको दाबी दोहोर्‍याउँदै रुसबाट सहयोग प्राप्त भए पनि त्यसले तेहरानलाई निर्णायक लाभ नदिएको टिप्पणी गरेका छन् । उनले जेलेन्स्कीको आरोप सत्य भए–नभएको विषयमा आवश्यक जानकारी सङ्कलन गरिने पनि बताएका छन् ।

ह्वाइट हाउसको भेटवार्तापछि ट्रम्प, जेलेन्स्की र नेतान्याहु वासिङ्टनमा आयोजित अमेरिकी सिनेटर स्वर्गीय लिन्डसे ग्राहमको अन्त्येष्टि कार्यक्रममा पनि सहभागी हुने अपेक्षा गरिएको छ । रासस