सिरहामा राजमार्ग बन्द गराएर विरोध प्रदर्शन: देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग


सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर स्थानीय युवकको मृत्यु भएको घटनालाई लिएर सिरहामा आन्दोलन तीव्र बनेको छ। घटनाको निष्पक्ष छानबिन र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै स्थानीय बासिन्दा तथा सर्वसाधारणले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन्।

गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक चोहर्वामा भेला भएका आन्दोलनकारीहरूले सडकमा उत्रिएर सवारी आवागमन ठप्प पारेका थिए। प्रदर्शनका क्रममा सहभागीहरूले प्रहरी दमन बन्द गर्न, गोली चलाउने दोषी प्रहरी अधिकारीलाई कारबाहीको दायरामा ल्याउन र घटनाको उच्चस्तरीय निष्पक्ष छानबिन गर्न माग गर्दै चर्को नाराबाजी गरेका थिए। आक्रोशित प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामासमेत माग गरेका छन्।

देवानगञ्ज घटनालाई लिएर सिरहाका विभिन्न स्थानमा लगातार प्रदर्शन भइरहेको छ। यसअघि सोमबार पनि कर्जन्हा नगरपालिकाको बन्दीपुर, गोलबजारको गोलपार्क तथा धनगढीमाई नगरपालिका–८ स्थित कसहा चोकमा पूर्व–पश्चिम राजमार्ग ठप्प पारी विरोध जनाइएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार प्रदर्शनका कारण करिब आधा घण्टासम्म राजमार्गमा सवारी साधन ठप्प भएका थिए। पछि आन्दोलनकारीहरूसँग वार्ता र छलफल गरी सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो। उक्त घटनापछि उत्पन्न आक्रोशका कारण सुनसरीलगायत तराईका विभिन्न जिल्लाहरूमा विरोध प्रदर्शन भएको छ।