अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको अपिल


काठमाडौँ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शृंखलाबद्ध आक्रमणका घटना बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै पनि बहानामा स्वास्थ्य सेवा अवरुद्ध नगर्न मुलुकभरका सम्पूर्ण अस्पतालहरूलाई अपिल गरेको छ। मन्त्रालयले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढिसकेकाले नियमित उपचार सेवा प्रवाह गर्न आग्रह गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक एवं संवेदनशील भएकाले नागरिकलाई बिनाअवरोध उपचार पाउने वातावरण सुनिश्चित गर्न अनुरोध गरेका छन्। विज्ञप्तिमा पछिल्ला दिनमा विभिन्न स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

यसैबीच, पर्सास्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले चासो व्यक्त गरेकी छन्। आक्रमणबाट घाइते भएका डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँ ल्याउने व्यवस्था मिलाउनुका साथै मन्त्री मेहता स्वयं राष्ट्रिय ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्।

मन्त्री मेहताले दोषीमाथि कडा कानुनी कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा सुचारु राख्न मन्त्रालय निरन्तर लागिपरेको जनाएकी छन्। स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा काम गर्न पाउनु उनीहरूको अधिकार भएको स्मरण गराउँदै मन्त्रालयले नागरिकको स्वास्थ्य अधिकारलाई मध्यनजर गरी सेवा निरन्तर सञ्चालन गर्न पुनः जोड दिएको छ।