रास्वपा बैठकः रवि–बालेन पक्षबीच शक्ति सन्तुलनको सकस


काठमाडौँ । चितवन महाधिवेशन सम्पन्न भएको केही समयपछि नै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक जोडघटाऊ र शक्ति सन्तुलनको नयाँ अध्याय शुरु भएको छ। महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिको खाका कोरिएसँगै अब बाँकी ५१ केन्द्रीय सदस्य र मुख्य पदाधिकारी चयनका लागि बैठक डाकिएको छ।

महामन्त्री विपिन आचार्यका अनुसार साउन १३ गते घण्टीघर (वनस्थली) मा बस्ने केन्द्रीय समिति बैठकले सांगठनिक व्यवस्थापन, परिमार्जित कार्यविधि र पहिलो चरणको मनोनयनलाई प्राथमिकतामा राखेको छ। तर, यो प्राविधिक प्रक्रियाभन्दा बढी पार्टीभित्र शीर्ष तहको आन्तरिक शक्ति सन्तुलन, विशेषगरी सभापति रवि लामिछाने र पार्टीभित्र आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पक्षबीचको रणनीतिक टकरावसँग जोडिएको छ।

३३ सदस्यीय सचिवालय र १९ सदस्यीय पदाधिकारी संरचनामा आफ्नो दह्रो उपस्थिति जनाउनु बालेन पक्षको पहिलो शर्त हुनेछ। विशेषगरी उपसभापति र महामन्त्री जस्ता रणनीतिक पदमा आफ्नो समूहका नेताहरूलाई स्थापित गराउने दबाब सभापति रवि लामिछानेमाथि सिर्जना गर्ने रणनीति बालेन शाह समूहको छ। बाँकी मनोनयनमा पनि जनस्तरमा प्रभाव भएका आफूनिकटका व्यक्तिहरूलाई समेट्न बालेन पक्षले अडान लिनेछ।

यस्तै, संस्थापक समूहबाट उपेक्षित वा असन्तुष्ट बनेका नेता-कार्यकर्तालाई आफ्नो खेमामा ल्याएर केन्द्रीय समितिमा स्पष्ट बहुमत वा निर्णायक शक्ति बन्ने बालेन पक्षको दीर्घकालीन रणनीति देखिन्छ।

पार्टी विधानको धारा २३ ले सभापतिलाई २० जना अनुकूल मनोनयन गर्ने अधिकार दिएको भए पनि वर्तमान शक्ति सन्तुलनलाई बे-वास्ता गरेर निर्णय लिन सभापति लामिछानेलाई सहज छैन।

महाधिवेशनमै लामिछानेले विभिन्न समूहलाई अटाउनकै लागि केन्द्रीय समिति र पदाधिकारीको आकार बढाउनुपरेको स्वीकार गरिसकेका छन्। यस्तोमा सभापति लामिछानेले आफ्नो पकड जोगाउँदै बालेन पक्षलाई कसरी सन्तुलनमा राख्छन् भन्ने कुराले नै रास्वपाको भावी सांगठनिक दिशा तय गर्नेछ।

यसैबीच, साउन १३ को बैठकका लागि मुख्यरूपमा महाधिवेशनको समग्र समीक्षा, कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालनलगायत एजेन्डा तय गरिएका छन् ।

यी एजेन्डाहरू हेर्दा बैठक सांगठनिक प्रक्रियामा मात्र सीमित देखिने भए पनि यसको भित्री चुरो भने रास्वपाभित्र दुई प्रभावशाली नेताहरूको नेतृत्व र एजेन्डाको लडाइँ नै हो। बालेन पक्षले यो मनोनयनलाई सरकार सञ्चालन र पार्टीका रणनीतिक संयन्त्रहरूमा आफ्नो प्रभुत्व जमाउने र रवि पक्षले पनि पार्टीमा आफ्नो प्रभुत्व कायमै राख्ने अवसरका रूपमा प्रयोग गर्ने आँकलन गरिएको छ ।