काठमाडौँ, १३ साउन । नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक बैठकले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका ७९ वर्षीय श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।
श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिस अस्पतालमा मङ्गलबार निधन भएको थियो । उनी १२ बुँदे सहमतिको हस्ताक्षरकर्तामध्येका एक नेता हुन् ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
बैठकले स्वर्गीय नेता श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामना गरेको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले साउन १३, १४ र १५ गते केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको बताए ।
त्यसैगरी, साउन १४ गतेका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । साथै, १३औँ दिनमा उनको गृहजिल्ला (स्याङ्जा)को कालीगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोकसभाको आयोजना गरिने जनाइएको छ ।
लोकतन्त्रको स्थापना, पुनःस्र्थापना तथा सुदृढीकरणका लागि विभिन्न सङ्घर्ष र आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका श्रेष्ठले पटकपटक गरी छ वर्ष जेलजीवन बिताएका थिए ।
स्वर्गीय श्रेष्ठ विसं २०४८, २०५६, २०६४ मा स्याङ्जा जिल्लाबाट प्रतिनिधिसभा सदस्य र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा आपूर्ति र शिक्षामन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । रासस




प्रतिक्रिया