काठमाडौँ । चर्चित पत्रकार तथा ‘स्वतन्त्र नागरिक अभियान’का अध्यक्ष ऋषि धमलासँगको कुराकानीका क्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार (बेन) ले प्रधानमन्त्री बालेन्द्र शाहको आगामी कूटनीतिक यात्राबारे महत्त्वपूर्ण खुलासा गरेका छन्।
पत्रकार धमलासँग प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनले बालेन शाहको पहिलो विदेश भ्रमण छिमेकी मुलुक भारतबाटै हुने निश्चित भएको जानकारी दिएका हुन्। तर, त्यसअघि सरकारको सम्पूर्ण ध्यान देशमा खलबलिएको धार्मिक तथा सामाजिक सद्भावलाई पुनः सामान्य अवस्थामा फर्काउनेतर्फ केन्द्रित रहेको बेनले स्पष्ट पारे।
सुनसरीको देवानगञ्ज प्रकरणलगायतका घटनाले देशमा निम्त्याएको सुरक्षा संवेदनशीलता र सामाजिक सद्भावको संकटलाई साम्य पारेर मात्रै प्रधानमन्त्री शाह नयाँ दिल्ली उड्ने बेनले धमलालाई बताएका छन्। देशको आन्तरिक शान्ति-सुरक्षालाई सुदृढ र नागरिकबीचको आपसी भाइचारालाई मजबुत बनाएपछि मात्र प्रधानमन्त्री नयाँ दिल्ली उड्नु उपयुक्त हुने निष्कर्षमा सरकार पुगेको हो।
अध्यक्ष धमलासँगको संवादमा सल्लाहकार बेनले प्रधानमन्त्री शाहको पहिलो औपचारिक विदेश यात्रा भारतबाटै प्रारम्भ हुने र त्यसपछि मात्र अन्य मित्रराष्ट्रहरूको भ्रमण तालिका तय गरिने बताएका छन्।




प्रतिक्रिया