पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु


पेसावर (पाकिस्तान), १४ साउन । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि सशस्त्र समूहले गरेको भीषण आक्रमणमा नौ जना प्रहरीको मृत्यु भएको छ । सुरक्षा कारबाहीका क्रममा १५ जना आक्रमणकारी पनि मारिएका छन् भने दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन् । पछिल्ला केही दिनयता सोही क्षेत्रमा भएका लगातारका आक्रमणले पाकिस्तानको सुरक्षा चुनौती थप गम्भीर बनेको छ ।

प्रहरीका अनुसार बुधबार हङ्गु जिल्लास्थित प्रहरी चौकीलाई लक्षित गरी ठूलो सङ्ख्यामा सशस्त्र व्यक्तिले आक्रमण गरेका थिए । झडपमा नौ जना प्रहरीको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका छन् । जवाफी कारबाहीमा सुरक्षा बलले १५ जना आक्रमणकारीलाई मार्नुका साथै अन्य धेरैलाई घाइते बनाएको जनाएको छ ।

खैबर पख्तुनख्वा प्रहरीद्वारा जारी विज्ञप्तिमा झडपका क्रममा एउटा बख्तरबन्द सवारीसाधन र अन्य धेरै प्रहरीका गाडीमा पनि गम्भीर क्षति पुगेको उल्लेख गरिएको छ ।

यस आक्रमणको जिम्मेवारी प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशबाट लिएको छ । पछिल्ला महिनामा उक्त समूहले खैबर पख्तुनख्वाका विभिन्न जिल्लामा सुरक्षा निकायलाई लक्षित गर्दै आक्रमण तीव्र बनाउँदै आएको छ ।

यसअघि गत शुक्रबार पनि खैबर पख्तुनख्वाको ट्याङ्क जिल्लास्थित अर्को सुरक्षा चौकीमा आत्मघाती शैलीको आक्रमण भएको थियो । विस्फोटक पदार्थले भरिएको सवारीसाधन सुरक्षा चौकीमा ठोक्काइएपछि भएको विस्फोटमा सैनिक, प्रहरी र सरकारी कर्मचारीसहित १५ जनाको मृत्यु भएको थियो । त्यस घटनापछि सुरक्षा बलले गरेको कारबाहीमा १२ जना आक्रमणकारी मारिएको सेनाले जनाएको थियो ।

पाकिस्तान सरकारले खैबर पख्तुनख्वा र बलुचिस्तानमा बढ्दो हिंसात्मक गतिविधिका लागि अफगानिस्तानबाट सञ्चालित आतङ्कवादी समूह जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ । तर अफगानिस्तानको तालिबान सरकारले भने त्यस्ता आरोप अस्वीकार गर्दै आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिइने बताउँदै आएको छ ।

दुवै देशबीच यस विषयलाई लिएर पछिल्ला महिनामा तनाव बढ्दै गएको छ । पाकिस्तानले अफगान भूमिमा लुकेका आतङ्ककारीलाई लक्षित गरी हवाई आक्रमणसमेत गर्दै आएको जनाएको छ । तालिबान प्रशासन र संयुक्त राष्ट्रसङ्घका अनुसार गत जुनमा पूर्वी अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको थियो । रासस