काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको समग्र राजनीतिक परिस्थिति सहज नरहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले निर्वाचनका बखत जनताले व्यक्त गरेको अभिमतअनुसार वर्तमान सरकारले काम गर्न नसकेको दाबी गरे।
‘देशको अवस्था ठीक छैन। गत निर्वाचनमा जे भनेर हामी सहभागी भयौँ र जे-जसरी जनताले अभिमत प्रकट गरे, सरकारका क्रियाकलापले जनताका अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन,’ संसद्मा बोल्दै उनले भने, ‘दिनप्रतिदिन देशको राजनीतिक अवस्था थप जटिल र असहज बन्दै जाने हो कि भन्ने चिन्ता बढाएको छ।’
सरकारका पछिल्ला गतिविधिले आम जनताको अपेक्षा र भरोसा जोगाउन नसकेको उल्लेख गर्दै उनले थपे, ‘राजनीतिक दलहरूले आ-आफ्ना धारणा राख्नु स्वाभाविक र लोकतान्त्रिक अभ्यास नै भए पनि जनताको निराशा र अपेक्षालाई सम्बोधन गर्न सरकार गम्भीर हुनैपर्छ।’ उनले सत्तापक्षलाई जनअपेक्षाप्रति संवेदनशील भएर अघि बढ्न आग्रह गरे।
सम्बोधनका क्रममा प्रचण्डले सुनसरीको कप्तानगञ्जमा बोलबम यात्राका क्रममा तनाव उत्पन्न भई प्रहरीको गोली लागेर एक युवाको ज्यान गएको घटनाप्रति कडा असन्तुष्टि व्यक्त गरे। सो गम्भीर घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गर्दै उनले यस्ता संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले चासो नदेखाएको भन्दै सदनमै आपत्ति जनाए।




प्रतिक्रिया