काठमाडौ । सुनसरीको देवानगञ्जमा आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
योसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार चिकित्सकले दिउँसो १ः२४ बजे मेतालाई मृत घोषणा गरेका थिए।
घटनामा गोली लागेर घाइते भएका अन्य आठ जनाको विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ।
सुनसरीको देवानगञ्जमा भएको झडपका क्रममा प्रहरीले गोली चलाएको थियो। घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने घटनाबारे छानबिन प्रक्रिया अघि बढाइएको छ।




प्रतिक्रिया