सद्भाव जोगाउन निर्मल निवासको आह्वान– ‘आपसी द्वन्द्वले राष्ट्रिय गरिमामा आँच पुर्याउँछ’


काठमाडौं । देशका विभिन्न भागमा सामाजिक तथा जातीय सद्भावमा खलल पुग्ने गरी भइरहेका पछिल्ला घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीहरूलाई आपसी एकता र सद्भाव कायम राख्न आह्वान गरेका छन् ।

निर्मल निवासस्थित संवाद सचिवालयद्वारा बिहीबार जारी वक्तव्यमा सुनसरीसहित कोशी क्षेत्र र तराईका भू–भागमा हालै भएका द्वन्द्व र विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

जारी सन्देशमा नेपालको ऐतिहासिक जग नै विविधताबीचको एकतामा टिकेको स्मरण गराइएको छ । नेपाल निर्माणको शुरुवाती समयदेखि नै सबै जातजाति र समुदाय आपसमा मिलेर, सुख–दुःख बाँड्दै बस्दै आएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, ‘हाम्रो समाज बहुजातीय र बहुभाषिक छ । हाम्रा आ–आफ्नै धर्म, संस्कृति र रीतिस्थिति छन् । यही विशिष्ट धार्मिक, सांस्कृतिक एवम् सामाजिक गुणका कारण विश्वमा नेपालको बेग्लै सम्मान रहेको छ ।’

उक्त विशेषता र राष्ट्रिय गौरवलाई कुनै पनि बहानामा गुम्न दिन नहुने र कसैबाट पनि सामाजिक सद्भावमा खलल पार्ने काम हुन नहुनेमा जोड दिइएको छ ।

केही दिनअघि सुनसरीका स्थानीय गाउँबस्तीमा भएको द्वन्द्व, जनधनको क्षति तथा त्यसपछि कोशी क्षेत्र र तराईमा फैलिएको अशान्त वातावरणप्रति पूर्वराजाले गम्भीर दुःख व्यक्त गरेका छन् ।

सामाजिक सामञ्जस्यका लागि परिचित नेपालमा यस्ता अवाञ्छित र दुःखद् घटना घट्नु चिन्ताको विषय भएको वक्तव्यमा उल्लेख छ । यस्ता गतिविधि नेपाली समाजको मौलिक मूल्य र मान्यताविपरीत भएको उनको ठम्याइ छ ।

देशको जुनसुकै भू–भागमा बसोबास गर्ने नेपालीहरूलाई एक–आपसमा मिलेर बस्न आग्रह गर्दै सन्देशको अन्त्यमा भनिएको छ, ‘हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ । यही आजको आवश्यकता हो ।‘