सर्लाही नाकामा ‘परिचयपत्र’ अनिवार्य, मलंगवामा प्रदर्शनपछि उच्च सुरक्षा सतर्कता


सर्लाही । नेपाल–भारत खुला सीमाको सदुपयोग गर्दै आपराधिक गतिविधि र अवाञ्छित घुसपैठ बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सर्लाही प्रशासनले सीमा नाकामा कडाइ गरेको छ। जिल्ला सुरक्षा समिति सर्लाहीले भारतबाट नेपाल प्रवेश गर्ने सम्पूर्ण यात्रुहरूका लागि अब अनिवार्यरूपमा आधिकारिक परिचयपत्र देखाउनुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।

जिल्लाको शान्ति–सुरक्षा र सामाजिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यले यो कदम चालिएको स्थानीय प्रशासनले जनाएको छ। सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार सीमा नाका भएर नेपाल प्रवेश गर्ने प्रत्येक नागरिकले आफ्नो स्पष्ट पहिचान खुल्ने राष्ट्रिय परिचयपत्र, नागरिकता वा अन्य आधिकारिक कागजात प्रस्तुत गरेपछि मात्र प्रवेश अनुमति पाउनेछन्। “सीमा क्षेत्रमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न निगरानी र जाँचलाई थप प्रभावकारी बनाउन सुरक्षा निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ,” उनले भने।

यसैबीच, जिल्ला सदरमुकाम मलंगवाको अवस्था भने तनावपूर्ण बनेको छ। बिहीबार साँझसम्म स्थिति सामान्य रहे तापनि शुक्रबार एकाएक विभिन्न स्थानमा प्रदर्शन सुरु भएपछि बजार पूर्णरूपमा बन्द गराइएको छ। अप्रिय घटना हुन नदिन र शान्ति सुव्यवस्था कायम राख्न प्रहरीले सम्पूर्ण सदरमुकाम क्षेत्रमा सुरक्षा सतर्कता ह्वात्तै बढाएको छ।

अस्थिर वातावरणका माझ जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कुनै पनि किसिमका भ्रामक र प्रायोजित अफवाहका पछाडि नलग्न तथा आधिकारिक सूचनालाई मात्र पत्याउन आग्रह गरेको छ। साथै, सीमा नाकाबाट आवतजावत गर्ने यात्रुहरूलाई आफ्ना आधिकारिक कागजात साथमै बोकेर सुरक्षाकर्मीलाई सहजीकरण गरिदिनसमेत अपिल गरिएको छ।