विज्ञापन रद्द भए दरखास्त दस्तुर बैंक खातामै फिर्ता गर्न सरकारको निर्देशन


काठमाडौँ । कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापन रद्द भएको अवस्थामा उम्मेदवारहरूले बुझाएको आवेदन शुल्क अब सीधै उनीहरूकै बैंक खातामा फिर्ता हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक पत्र जारी गर्दै सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई रद्द भएका विज्ञापनको दरखास्त दस्तुर अनिवार्य रूपमा फिर्ता गर्न निर्देशन दिएको हो।

प्रधानमन्त्री कार्यालयको प्रशासन शाखाद्वारा जारी परिपत्रअनुसार मन्त्रालय, प्रदेश तथा स्थानीय तह र तिनीहरूअन्तर्गतका निकाय वा संगठित संस्थाहरूले प्रकाशित गरेका पदपूर्तिसम्बन्धी विज्ञापन वा सूचना विभिन्न कारणले रद्द भएमा उम्मेदवारले बुझाएको शुल्क दाखिला भएकै बैंक खातामा फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

विज्ञापन रद्द हुँदा उम्मेदवारहरूले तिरेको रकम वर्षौंसम्म फिर्ता नहुने वा प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने गुनासो बढ्दै गएका बेला सरकारले यस्तो कदम चालेको हो। पत्रमा उक्त व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रिया अघि बढाउन सम्बन्धित सबै निकायलाई ताकेता गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो निर्णय र निर्देशन कार्यान्वयनका लागि सिंहदरबारस्थित सबै मन्त्रालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र देशभरका सम्पूर्ण स्थानीय तहहरूलाई पठाइसकिएको छ। यो व्यवस्था लागू भएसँगै लोकसेवा तथा विभिन्न सरकारी निकायका रद्द भएका परीक्षामा आवेदन दिने हजारौँ परीक्षार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।