काठमाडौँ, १५ साउन । राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि सहर निर्माणको अवधारणामा काम गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएकी छिन् । आजको बैठकमा प्रादेशिक सरोकारका विषयमा आफ्नो धारणा राख्दै उनले पहाडबाट मधेस तथा मधेसबाट काठमाडौँ र ठूला सहरतर्फ भइरहेको बसाइँसराइ अव्यवस्थित र चिन्ताजनक बन्दै गएकाप्रति सचेत गराएकी हुन् ।
विकासका लागि खानेपानी, बिजुली र सडक पुगेका ठाउँबाट समेत ठूलो सङ्ख्यामा बसाइँसराइ हुनु अव्यवस्थित भएको भन्दै सदस्य झाँक्रीले नागरिकलाई आफ्नै ठाउँमा आबद्ध गराउने नीति र सहर निर्माणको अवधारणामा काम गर्नुपर्नेमा जोड दिइन् ।
सांसद झाँक्रीले लुम्बिनी प्रदेशसँगै सबै प्रदेशमा कर्मचारीको दरबन्दी मिलान र सृजना तथा कर्मचारीलाई प्रोत्साहन गर्ने व्यवस्थाको आवश्यकतासमेत औँल्याइन् । उनले सङ्घीयता विशिष्ट परिस्थितिमा आएको स्मरण गराउँदै सङ्घ र स्थानीय तहबीचको दूरी घटाउन ध्यानाकर्षण गराइन् । सङ्घीय सरकारले निश्चित वडामा स्वास्थ्यकर्मी, इन्जिनियर प्रशासनका कर्मचारीको व्यवस्था गर्नुपर्ने तथा स्थानीय तहमा कर्मचारीलाई अपमान होइन, प्रोत्साहनसहित पठाउनुपर्ने उनको भनाइ छ ।
सङ्घ र प्रदेशका समान प्रकृतिका विकास एकाइ बनिरहेका विषयमा खर्च घटाउने क्रममा पुनरावलोकन गर्नुपर्ने, विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात मिलाउनुपर्ने तथा सङ्घबाट सृजना भएको दरबन्दी र स्थानीय तहबाट भइरहेको अध्यापन व्यवस्थाबीच समायोजन गर्नुपर्ने उनले बताइन् । सदस्य झाँक्रीले सुनसरी घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक मेलमिलाप र सद्भाव कायम गर्न प्रेम र विश्वास आवश्यक रहेको धारणासमेत व्यक्त गरिन् । रासस




प्रतिक्रिया