सिरहा । गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय बालक गणेश यादवको निवास वरपरको क्षेत्र अहिले तनावग्रस्त बनेको छ। औरही गाउँपालिका–२ तुलसियाहीस्थित मृतक यादवको घरअगाडि भेला भएका स्थानीय र सुरक्षा निकायका अधिकारीहरूबीच दोहोरो मुठभेडको स्थिति सिर्जना भएको छ।
मृतकका परिवारजनलाई भेट्न र समवेदना प्रकट गर्न गृहमन्त्री सुदन गुरुङ तुलसियाही जाने क्रममा सुरक्षा प्रबन्धका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला प्रशासन कार्यालय सिरहाका सवारी-साधनलाई रुष्ट स्थानीयहरूले घरअगाडि नै घेराउ गरेका हुन्।
सुनसरीमा घटेको अघिल्लो घटनालाई लिएर गोलबजारमा आयोजना गरिएको प्रदर्शनका क्रममा बिहीबार प्रहरीको गोली लाग्दा औरहीका १५ वर्षीय बालक यादवको ज्यान गएको थियो। बालकको मृत्युपछि स्थानीयवासी थप आन्दोलित बनेका छन्।
आन्दोलनकारीहरूले घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दा उल्टै ‘साम्प्रदायिक सद्भाव खलबल्याएको’ आरोपमा पक्राउ गरिएका आफ्ना निर्दोष साथीहरूलाई तत्काल रिहा गर्नुपर्ने सर्त अघि सारेका छन्। प्रदर्शनकारीको तीव्र घेराउ र विरोधका कारण गृहमन्त्रीको टोली र सुरक्षा निकायका उच्च अधिकारीहरूलाई स्थिति नियन्त्रणमा लिन निकै सकस परिरहेको छ।




प्रतिक्रिया