काठमाडौँ । कप्तानगञ्ज घटना र त्यसपछि उत्पन्न असहज परिस्थितिप्रति सरकार गैरजिम्मेवार र असंवेदनशील बनेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ। नागरिकमाथि राज्यले अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै कांग्रेसले घटनाको सत्यतथ्य छानबिनका लागि तत्काल उच्चस्तरीय न्यायिक समिति गठन गर्न माग गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन र कसरी सिर्जना भयो भन्नेबारे स्वतन्त्र, निष्पक्ष र विश्वासयोग्य छानबिन हुनुपर्ने स्पष्ट पारिएको छ।
विज्ञप्तिमा न्यायिक छानबिन समिति गठनसँगै घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार, उचित व्यवस्थापनका साथै तोडफोड र आगजनीबाट भएको धनसम्पत्तिको क्षतिपूर्ति दिलाउन सरकारमाथि निरन्तर दबाब र खबरदारी जारी राख्ने उल्लेख छ।
संकटपूर्ण घडीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको ठहर गर्दै कांग्रेसले मधेस प्रदेश सरकार, स्थानीय सरकार र जनप्रतिनिधिहरूलाई पीडित परिवारको सहयोग तथा सद्भाव कायम राख्न विशेष अग्रसरता लिन निर्देशन दिएको छ।




प्रतिक्रिया