भारतबाट शेख हसिनाको भर्चुअल सम्बोधन हुँदै


काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना करिब दुई वर्ष लामो अज्ञातवास र मौनतापछि पहिलोपटक सार्वजनिक रूपमा मिडियासामु प्रस्तुत हुने भएकी छन्। भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको एक विशेष भर्चुअल कार्यक्रममार्फत उनी सार्वजनिक हुन लागेकी हुन्।

आगामी अगस्ट ५ मा आयोजना हुने उक्त कार्यक्रममा हसिनाले आफ्नो भावी राजनीतिक यात्रा र स्वदेश (बंगलादेश) फर्किने सम्भावनाबारे आधिकारिक धारणा राख्ने बताइएको छ।

‘फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया’ को आयोजनामा हुन लागेको यो कार्यक्रम नयाँ दिल्लीस्थित सर मार्क टली अडिटोरियममा साँझ ६:०० देखि ७:३० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको प्रत्यक्ष प्रसारण क्लबका विभिन्न सामाजिक सञ्जालहरूमार्फत समेत गरिने आयोजकले जनाएको छ।

सन् २०२४ अगस्ट ५ मा आरक्षण प्रणालीविरुद्ध चर्किएको विद्यार्थी आन्दोलनले उग्र रूप लिँदै देशव्यापी सरकारविरोधी विद्रोहको रूप लिएपछि हसिनाले पदबाट राजीनामा दिई सैनिक विमानमार्फत भारतमा शरण लिन पुगेकी थिइन्।