काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि गरेको छ। भारतीय इन्धन प्रदायक संस्था इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मूल्य बढाएर पठाएपछि निगमले सर्वसाधारण र हवाई इन्धनतर्फको मूल्य समायोजन गरेको हो।
निगमका अनुसार नयाँ समायोजित दरअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको छ।
त्यस्तै, हवाई इन्धनतर्फ पनि भारी वृद्धि गरिएको छ। आन्तरिक उडानतर्फको हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ (काठमाडौँका लागि) प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले मूल्य बढाइएको छ। यद्यपि, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भने अन्तर्राष्ट्रिय हवाई इन्धनको बिक्री मूल्य ब्रेकइभेन प्वाइन्ट (नाफा-घाटा रहित बिन्दु) मा कायम गरिएको निगमले जनाएको छ।
बढेको नयाँ मूल्य आज मध्यराति १२ बजेदेखि नै लागू हुने गरी कार्यान्वयनमा आउने आयल निगमले स्पष्ट पारेको छ।





प्रतिक्रिया