क्युबामा पुनः राष्ट्रव्यापी विद्युत् अवरुद्ध, ऊर्जा सङ्कट गहिरिँदै


हवाना, १८ साउन । क्युबाको राष्ट्रिय विद्युत् प्रणालीमा आएको समस्याका कारण आइतबार पुनः देशव्यापी विद्युत् अवरुद्ध भएको राज्य सञ्चालित विद्युत् कम्पनीले जनाएको छ । विद्युत् आपूर्ति बन्द हुँदा राजधानी हवानासहित देशका अधिकांश भाग अन्धकारमा डुबेका थिए ।

राज्य सञ्चालित युनियन इलेक्ट्रिका (यूएनई) ले राष्ट्रिय विद्युत् प्रणालीमा ‘पूर्ण विच्छेद’ भएको जानकारी दिँदै ग्रिड पुनःसञ्चालनका लागि काम भइरहेको जनाएको छ ।

हवानाका बासिन्दाहरूले गर्मीबाट राहत पाउन घरबाहिर बसेका बेला अचानक विद्युत् गएपछि असन्तुष्टि व्यक्त गरेका थिए ।

पुराना उपकरण, इन्धन अभाव तथा अमेरिकी प्रतिबन्धका कारण क्युबाले लामो समयदेखि विद्युत् सङ्कट सामना गर्दै आएको छ । विद्युत् उत्पादन केन्द्रका लागि आवश्यक इन्धन आपूर्तिमा कठिनाइ हुँदा नियमित विद्युत् कटौती हुँदै आएको अधिकारीले बताएका छन् ।

यो क्युबाको विद्युत् प्रणालीमा भएको पछिल्लो ठूलो अवरोध हो । एक दिनअघि मात्रै देशको पश्चिमी क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

विद्युत् कटौतीका कारण दैनिक जनजीवन प्रभावित भएको छ । विद्युत् अवरुद्ध हुँदा खानेपानी आपूर्ति, सञ्चार तथा घरायसी उपकरण सञ्चालनमा समेत समस्या हुने गरेको छ ।

ऊर्जा सङ्कटका कारण जनअसन्तुष्टि बढ्दै गएको छ । प्रभावित क्षेत्रका केही बासिन्दाले फोहोर थुप्रोमा आगो बालेर तथा भाँडाकुँडा बजाएर विरोध जनाएका छन् । क्युबाको ऊर्जा मन्त्रालयले विद्युत् ग्रिड पुनःसञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।

क्युबाले लामो समयदेखि इन्धन आपूर्ति सङ्कट झेलिरहेको छ । गत मार्चमा अमेरिकाले एक लाख टन कच्चा तेल बोकेको रुसी ट्याङ्करलाई क्युबा पुग्न अनुमति दिएको थियो । तर उक्त भण्डारसमेत सकिएको जनाइएको छ ।

अमेरिकी प्रतिबन्धका कारण क्युबाली राज्य स्वामित्वका कम्पनीहरू प्रभावित भएका छन् भने केही विदेशी कम्पनीले पनि आफ्नो गतिविधि स्थगित गरेका छन् ।

यसैबीच, हवाना र वासिङ्टनबीचको सम्बन्धमा पछिल्लो समय उल्लेखनीय सुधार हुन सकेको छैन । क्युबाले आर्थिक सङ्कट समाधानका लागि केही बजारमुखी सुधारका उपायहरू अघि बढाउँदै आएको छ । रासस