सुनसरीका देवानगञ्ज र हरिनगरमा आज पनि निषेधाज्ञा जारी


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका दुई स्थानीय तहमा आज (सोमबार) पनि निषेधाज्ञालाई निरन्तरता दिएको छ। शान्ति-सुरक्षाको अवस्थालाई दृष्टिगत गर्दै देवानगञ्ज र हरिनगर गाउँपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालयद्वारा सोमबार जारी सूचना अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम सोमबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार जिल्लामा विकसित पछिल्ला घटनाक्रमको वस्तुनिष्ठ समीक्षा गर्दा सुरक्षा वातावरण क्रमशः सुधारोन्मुख हुँदै गएको छ। यद्यपि, सम्भावित जोखिमलाई न्यूनीकरण गर्दै शान्ति-सुरक्षा र जनजीवन पूर्णरूपमा सामान्य बनाउने उद्देश्यले निषेधाज्ञालाई केही समयका लागि निरन्तरता दिइएको प्रशासनले जनाएको छ। निषेधाज्ञाको अवधिमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ।