सडकमा पोखियो नर्सहरूको आक्रोश


काठमाडौँ । न्यूनतम पारिश्रमिक र मर्यादित कामको ग्यारेन्टी माग्दै आन्दोलनरत नर्सहरूले सोमबार राजधानीमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको समग्र सुधारका लागि नर्स ज्योति रानाभाटले शुरु गरेको आमरण अनशन पाँचौँ दिनमा पुग्दासमेत सरकारले बेवास्ता गरेपछि रुष्ट बनेका स्वास्थ्यकर्मीहरूले वीर अस्पताल अगाडि प्रदर्शन गरेका हुन्।

अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा भइरहेको चरम श्रमशोषणको अन्त्य, न्यूनतम पारिश्रमिकको ग्यारेन्टी र सुरक्षित कार्य वातावरणको माग राख्दै नर्सहरू आन्दोलित बनेका हुन्।

स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील निकायमा कार्यरत जनशक्तिमाथि वर्षौँदेखि हुँदै आएको शोषणविरुद्ध यसअघि पनि पटक–पटक सहमति र सम्झौताहरू भएका थिए। तर, सरकार र सरोकारवाला निकायले ती वाचा पूरा नगर्दा आफूहरू पुनः सडकमा आउन बाध्य भएको आन्दोलनरत नर्सहरूको भनाइ छ।