सुनकोशीमा कार बेपत्ताः चार जनाको खोजी तीव्र


सिन्धुलीमाढी । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर नजिकै सोमबार बिहान एक अनपेक्षित र दुखद् दुर्घटना भएको छ। काठमाडौंबाट ओखलढुङ्गातर्फ गइरहेको यात्रुवाहक बसले ठक्कर दिँदा एक कार सडकबाट करिब १५० मिटर तल उर्लंदो सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहान करिब ११ः३० बजे भएको उक्त दुर्घटनापछि नदीमा बेपत्ता भएको कारभित्र चार जना यात्रु सवार रहेको खुलेको छ।

घटनास्थलमा सुरक्षा निकायको टोली तत्कालै पुगेर खोज तथा उद्धार कार्य शुरु गरिसकेको छ। प्रहरीले घटनाको विस्तृत विवरण संकलन भइरहेको र बेपत्ता यात्रु तथा कारको खोजी कार्यलाई तीव्रता दिइएको जानकारी दिएको छ।

यद्यपि, निरन्तरको वर्षाका कारण सुनकोशी नदीमा आएको भीषण बाढीले उद्धार कार्यलाई निकै जटिल र प्रभावित बनाएको छ। प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद उद्धार टोलीले प्रयास जारी राखेको छ।