काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट अनियन्त्रित भई सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार यात्रुहरूको खोजीका लागि गोताखोरसहितको तालिमप्राप्त उद्धार टोली परिचालन गरिएको छ।
दुर्घटना लगतै सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस (खुर्कोट) बाट विशेष उपकरण र गोताखोरसहितको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्यमा जुटेको छ।
प्रारम्भिक विवरण अनुसार उक्त कार खोटाङबाट काठमाडौंतर्फ आइरहेको अवस्थामा दुर्घटनामा परेको हो। नदीको तीव्र बहाव र प्रतिकूल अवस्थाका बाबजुद उद्धार टोलीले खोजी कार्यलाई तीव्रता दिएको छ।
“घटनास्थलमा गोताखोरसहितको टोली खटिसकेको छ। नदीमा बेपत्ता कार र यात्रुको खोजी कार्य जारी छ, विस्तृत विवरण आउन बाँकी छ।” — प्रहरी स्रोत
दुर्घटनाको मुख्य कारण, कारमा सवार यात्रुहरूको यकिन संख्या तथा तिनको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको र स्थानीय प्रहरी तथा सुरक्षा निकायका अन्य टोलीहरू पनि उद्धार स्थलमा खटिएको जनाइएको छ।




प्रतिक्रिया