काठमाडौ । विराटनगरमा नेकपा एमाले कोशी प्रदेश कमिटीका पदाधिकारी र संसदीय दलको संयुक्त बैठक सम्पन्न भएको छ।
बैठकमा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन र एमाले–नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सांसदहरूलाई आग्रह गरेका छन्।
बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की सहित अधिकांश प्रदेशसभा सदस्य उपस्थित थिए। सहभागी सांसदहरूका अनुसार राईले घुमाउरो रूपमा नेतृत्व हस्तान्तरणको संकेत गर्दै पार्टीको निर्णय अनुसार अघि बढ्नुपर्ने धारणा राखेका थिए। यद्यपि, बैठकमा मुख्यमन्त्री कार्कीलाई आफ्नो धारणा राख्ने अवसर नदिइएको केही सांसदले बताएका छन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शेरधन राईले पार्टीभित्र केही आन्तरिक जटिलता रहेको स्वीकार गर्दै त्यसको समाधान चाँडै हुने बताएका छन्। उनले नेतृत्व परिवर्तनको विषयलाई एमालेको आन्तरिक मामला भएको उल्लेख गर्दै कोशी प्रदेश सरकारको नेतृत्व एमालेकै हातमा रहने बताएका छन्।
राईले मुख्यमन्त्री कार्कीसँग आफ्नो व्यक्तिगत विवाद नभएको स्पष्ट पार्दै बाहिर आएका हल्ला निराधार रहेको दाबी गरे। उनका अनुसार अहिले देखिएको समस्या व्यक्तिको नभई पार्टीको नीतिसँग सम्बन्धित विषय हो।
यता, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू अझै पनि संसदीय दलको नेता र संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त मुख्यमन्त्री रहेको अडान दोहोर्याएका छन्। उनले आफूलाई मार्गप्रशस्त गर्न अध्यक्षको सन्देश आएको भन्ने चर्चालाई अस्वीकार गर्दै पार्टीभित्र कसरी अघि बढ्ने भन्ने विषयमा मात्रै छलफल भएको बताएका छन्।
कार्कीले नेतृत्व परिवर्तन सम्भव भए पनि अहिले एमालेलाई एकताबद्ध बनाएर अघि बढ्नु आवश्यक रहेको उल्लेख गरे। उनले आफ्नो सरकार धारा १६८(५) अन्तर्गत बहुमत सांसदको समर्थनमा बनेको भन्दै सरकारको संवैधानिक आधार बलियो रहेको दाबी गरे।
यसैबीच, एमाले नेतृत्वले केन्द्रमा भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि दबाब बढाएको छ। पार्टी स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने चाहना राखेका छन्।
सोहीअनुसार इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेशसभा सदस्यहरूसँग व्यक्तिगत भेटघाटलाई तीव्र बनाएका छन्।




प्रतिक्रिया