काठमाडौँ, १९ साउन । सत्तारूढ साझेदार दलहरू (एमाले र नेकपा) बीच कोशी प्रदेशमा एमालेकै नेतृत्वमा सरकार निर्माण गर्ने सहमति भए पनि आन्तरिक विवादका कारण नयाँ सरकार गठन प्रक्रिया लम्बिने भएको छ। एमालेभित्र मुख्यमन्त्रीको प्रत्याशीलाई लिएर तीव्र मतभेद देखिएपछि सरकार गठनमा ढिलाइ भएको हो।
हिक्मत कार्की कि नयाँ अनुहार ?
वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने वा नयाँ अनुहारलाई अघि सार्ने भन्ने विषयमा एमाले संसदीय दल र संगठनभित्र दुई धार देखिएको छ। विवाद चुलिएपछि नेकपा एमाले कोशी प्रदेश समितिले प्रदेश सांसदहरूसँग सघन छलफल र परामर्श थालेको छ।
सांसदहरूसँगको छलफलमा २९ जना प्रदेश सभा सदस्यहरूको सहभागिता रहेको एमाले प्रदेश सांसद पाँचकर्ण राईले जानकारी दिए। कोशी प्रदेश सभामा उपसभामुखसहित एमालेका कुल ४० जना सांसद रहेका छन्।
शीर्ष नेतृत्वको दाबी: ‘एक साताभित्रै विवाद निरूपण’
मुख्यमन्त्रीका प्रत्यासी एवं आकांक्षीहरूबीच रसाकसी चलिरहँदा पार्टी नेतृत्वले भने स्थिति चाँडै सामान्य हुने दाबी गरेको छ:
शेरधन राई, इन्चार्ज (एमाले कोशी प्रदेश): “एकदेखि डेढ साताभित्र नेतृत्वबारे उठेका सबै असहमति र विवाद समाधान गर्छौँ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको निर्देशन अक्षरशः पालना गराउन पार्टी र संसदीय दल दुवै तहमा छलफल अघि बढाइएको छ।”
हिक्मतकुमार कार्की, मुख्यमन्त्री: “म नै मुख्यमन्त्रीका लागि निर्विकल्प व्यक्ति हुँ भन्ने होइन। तर, वर्तमान जटिल राजनीतिक परिवेशमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मेवारी मेरो हो। अहिलेको सरकार संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बनेकाले यसको विशेष संवैधानिक संवेदनशीलतालाई सबैले ध्यान दिनुपर्छ।”
साझेदार दलहरूबीच सरकार गठनको नीतिगत सहमति भइसके पनि एमालेले आफ्ना आन्तरिक समीकरण मिलाउन नसक्दा कोशी प्रदेशको राजनीति फेरि केही दिन पर्ख र हेरको अवस्थामा पुगेको छ।




प्रतिक्रिया