काठमाडौं १९ साउन । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब १८ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो वर्षको तुलनामा ८२.९७ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ६४ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको नाफा उच्च दरले बढ्नुमा नियमित आम्दानीको वृद्धिभन्दा कर्जा नोक्सानी व्यवस्थामा आएको ठूलो कमी प्रमुख देखिन्छ। खुद ब्याज आम्दानी ६.९ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ। तर इम्पेरमेन्ट चार्ज ९५ करोड ४ लाख रुपैयाँबाट घटेर २० करोड ८० लाख रुपैयाँमा सीमित भएको छ।
कर्जा नोक्सानी व्यवस्था घटेसँगै सञ्चालन नाफा ९०.७४ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ पुगेको छ। शुल्क तथा कमिसन आम्दानी भने ३.२३ प्रतिशतले मात्र बढेर ३१ करोड १६ लाख रुपैयाँ कायम भएको छ।
बैंकको वितरणयोग्य नाफा २६.६३ प्रतिशतले बढेर ८४ करोड ६५ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी १३ रुपैयाँ २४ पैसाबाट बढेर २३ रुपैयाँ ५२ पैसा पुगेको छ भने प्रतिशेयर वितरणयोग्य नाफा १६ रुपैयाँ ८६ पैसा छ। यद्यपि, यसलाई सोही दरको लाभांश सुनिश्चित भएको रूपमा लिन मिल्दैन।
असार मसान्तसम्म बैंकको निक्षेप ८.४८ प्रतिशतले बढेर ७७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह भने ११.१८ प्रतिशतले विस्तार भई ६३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। कर्जाको वृद्धि निक्षेपभन्दा तीव्र हुँदा कर्जा–निक्षेप अनुपात ८२.६ प्रतिशतबाट बढेर ८४.१८ प्रतिशत पुगेको छ।
नाफामा उल्लेख्य सुधार भए पनि बैंकको निष्क्रिय कर्जा ४.२७ प्रतिशतबाट बढेर ४.९३ प्रतिशत पुगेको छ। यसले कर्जा असुली र सम्पत्तिको गुणस्तरमा दबाब कायमै रहेको देखाउँछ। आगामी अवधिमा निष्क्रिय कर्जा थप बढे कर्जा नोक्सानी व्यवस्था पुनः बढ्न सक्ने र त्यसले नाफामा असर पार्न सक्ने जोखिम छ।
बैंकको चुक्ता पुँजी ५ अर्ब २ करोड रुपैयाँ र जगेडा तथा सञ्चित कोष २ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। पुँजीकोष अनुपात १३.७ प्रतिशत कायम रहँदा आधारदर ५.३८ प्रतिशत र ब्याजदर अन्तर ४.०१ प्रतिशतमा झरेको छ। समग्रमा बैंकको नाफा र वितरण क्षमतामा सुधार देखिए पनि यसको दिगोपन कर्जा असुली र निष्क्रिय कर्जा नियन्त्रणमा निर्भर रहनेछ।




प्रतिक्रिया