काठमाडौँ, १९ साउन । बङ्गलादेशको ठाकुरगाँवमा जारी निःशुल्क आँखा शिविरमा स्थानीयवासीको उत्साहपूर्ण सहभागिता देखिएको छ। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालले यही साउन १७ गतेदेखि सो स्थानमा पाँचदिने शिविर जारी राखेको छ ।
नेपाली अब्बल नेत्र विशेषज्ञद्वारा सञ्चालित सो आँखा शिविरको दोस्रो दिनसम्म एक हजार ३६५ जनाको निः शुल्क आँखा परीक्षण तथा १३६ जनाको मोयिाविन्दुको शल्यक्रिया सम्पन्न भएको सङ्घले आज यहाँ जनाएको छ ।
सङ्घका अनुसार सो शिविरमा १३ सदस्यीय चिकित्सकीय टोलीले सेवा प्रदान गरिरहेका छन् । टोलीमा विराटनगर आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ तथा अनुभवी नेत्र स्वास्थ्यकर्मी सहभागी छन् । टोलीमा डा प्रज्ञा लुइँटेल, डा गङ्गासागर साह, दीपेन्द्र चौधरी, विद्यानन्द चौधरी, मो रफिकलगायतका रहेका छन् ।
नेपाल नेत्र ज्योति सङ्घ र ठाकुरगाँव डायबिटिज समितिको संयुक्त आयोजनामा सञ्चालित शिविरबाट करिब तीन हजार बङ्गलादेशी नागरिक लाभान्वित हुने लक्ष्य राखिएको छ ।
शिविरको शुभारम्भ कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले नेपालमा उपलब्ध अन्तरराष्ट्रियस्तरको आँखा उपचार सेवामा बङ्गलादेशका नागरिकको पहुँच बढाउन ‘भिसा’ प्रक्रिया थप सहज बनाउन तथा विराटनगर–सैदपुर सीधा हवाई सेवा सञ्चालन आवश्यक रहेको बताए । उनले भने, “यस्ता पहलले ‘स्वास्थ्य पर्यटन’ प्रवर्द्धनका साथै नेपाल–बङ्गलादेशबीचको स्वास्थ्य सहकार्यलाई थप सुदृढ बनाउने छ ।”
कार्यक्रममा बङ्गलादेशस्थित नेपाली दूतावासका उपप्रमुख प्रतीक कार्कीले नेपालका आँखा अस्पतालले प्रदान गरिरहेको गुणस्तरीय र सुलभ उपचार सेवाले नेपाललाई ‘स्वास्थ्य पर्यटन’को आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुगिरहेको बताए । उनले यस्ता मानवीय कार्यक्रमले दुई देशबीचको जनस्तरको सम्बन्ध र स्वास्थ्य कूटनीतिलाई थप बलियो बनाएको उल्लेख गरे ।
शिविरको शुभारम्भ बङ्गलादेशका स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी मामिलाका सल्लाहकार (मन्त्रिस्तरीय) मिर्जा फखरुल इस्लाम आलमगीरले गरेको हो ।
सङ्घका अनुसार शिविरमा निःशुल्क आँखा परीक्षण, रोग पहिचान, औषधि वितरण तथा मोतियाविन्दुको शल्यक्रिया सेवा प्रदान भइरहेको छ । साथै सन् २०२३ देखि सञ्चालन हुँदै आएको यस कार्यक्रममार्फत बङ्गलादेशका विभिन्न जिल्लाका हजारौँ आर्थिक रूपमा विपन्न नागरिकले निःशुल्क नेत्र उपचार सेवा प्राप्त गरिसकेका छन् ।
विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुले स्वास्थ्य सेवामार्फत दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ भने । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरीले समाधान गर्न सकिने अन्धोपन न्यूनीकरणका लागि नेपाल र बङ्गलादेशका संस्थाबीचको सहकार्य प्रभावकारी बन्दै गएको धारणा व्यक्त गरे ।
भिभा केयर लिमिटेड र ठाकुरगाँव डायबिटिज समितिको सहकार्यमा सो शिविर सञ्चालन भइरहेको छ । नेपाल नेत्रज्योति सङ्घले विगत चार दशकदेखि २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्रमार्फत नेपालभर गुणस्तरीय तथा सुलभ आँखा स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ ।
निःशुल्क आँखा शिविर विदेशमा
सङ्घले नेपालका साथै भारत, बङ्गलादेश, भुटान, म्यानमार, कम्बोडिया, इथियोपियालगायत विभिन्न देशमा पनि प्राविधिक सहयोग, क्षमता अभिवृद्धि, चिकित्सक तथा स्वास्थ्यकर्मी तालिम, निःशुल्क आँखा शिविर र विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । यसअघि पनि संघअन्तर्गतका आँखा अस्पतालहरूले बङ्गलादेशमा निःशुल्क आँखा शिविर सञ्चालन गरी हजारौँ नागरिकलाई उपचार सेवा उपलब्ध गराइसकेका छन् ।
सङ्घका अनुसार पछिल्ला वर्षहरूमा बङ्गलादेशबाट गुणस्तरीय तथा सुलभ नेत्र उपचारका लागि नेपालका आँखा अस्पतालमा आउने बिरामीको सङ्ख्या निरन्तर बढिरहेको छ ।
ठाकुरगाँवमा सञ्चालन भइरहेको सो शिविरले नेपाली नेत्र सेवाप्रतिको विश्वासलाई थप सदृढ बनाउनुका साथै बङ्गलादेशबाट नेपालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या वृद्धि भई आँखा स्वास्थ्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
सङ्घका अनुसार नेपाल र बङ्गलादेशबीच स्वास्थ्य क्षेत्रमा बढ्दो सहकार्यले सीमापार स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै नेपालको नेत्र उपचार सेवा र ‘स्वास्थ्य पर्यटन’ प्रवर्द्धनमा समेत सकारात्मक योगदान पु¥याएको छ ।RSS




प्रतिक्रिया