युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य


दाङ, १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

प्रदेशस्तरीय सडक सुरक्षासम्बन्धी गोष्ठीमा आज लमहीमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा १६ देखि ३० वर्ष उमेर समूहका युवा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने गरेको बताए ।

उनले उक्त घटनालाई प्रदेशकै सबैभन्दा ठूलो चुनौती र चिन्ताको विषय भएको उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले विद्यालय तहदेखिनै सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य आवश्यकता रहेको बताए ।

लुम्बिनी प्रदेशको दाङ, बाँके, कपिलवस्तु र रुपन्देहीमा सवारी दुर्घटना बढी हुने गरेको छ । तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति र लागुऔषधको प्रयोग दुर्घटनाका प्रमुख कारण हुन् ।

पुराना सवारीसाधन, गुणस्तरहीन सडक र चालकको लापर्वाहीले दुर्घटना बढेको बताइन्छ । कार्यशालामा भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरले सवारी दुर्घटना न्यूनीकरणका लागि नियम कानुनको इमान्दारीपूर्वक पालना र सडक सुरक्षासम्बन्धी प्रशिक्षण अभियान सञ्चालन गर्नुपर्ने बताए ।

प्रदेश नीति तथा योजना आयोगका फोकल पर्सन शङ्करसिंह धामीले पाँच वर्षको सडक दुर्घटना विवरण प्रस्तुत गरेका थिए । प्रस्तुत विवरणले ९० प्रतिशत दुर्घटना चालकको लापर्वाहीका कारण हुने गरेको उल्लेख छ ।

प्रदेशमा आव २०७७÷७८ देखि २०८१र८२ सम्म सात हजार ८६६ सवारी दुर्घटना भएको जानकारी दिए । उक्त दुर्घटनामा दुई हजार ५२५ जनाको मृत्यु भएको थियो । पाँच हजार ४१६ जना गम्भीर घाइते र छ हजार ८०४ जना सामान्य घाइते भएका थिए ।

कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्रीसहित विभिन्न मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला निकायका प्रतिनिधि एवं सरोकारवालाको सहभागीता थियो ।

कार्यक्रममा ‘मृत्यु र गम्भीर घाइते शून्यमा झारौँ’ भन्ने लक्ष्यसहित सडक सुरक्षा प्रवर्द्धनका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको थियो ।