मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते


मस्को, १९ साउन । रूसी राजधानी मक्स्कोको औद्योगिक क्षेत्रमा भएको ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको यस क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभले बताएका छन् ।

युक्रेनले रूसमा नागरिक पूर्वाधारलाई लक्षित गरी लामो दूरीको आक्रमण गरेको जनाएको छ भने पछिल्लो समयमा रूसका व्यापारिक गोदामहरूमा आक्रमणहरू बढाएको उल्लेख गरिएको छ ।

रूसले युक्रेनी सहरहरूमा सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको बदलामा युक्रेनले प्रत्येक रात रूसमा सयौँ ड्रोनहरू प्रहार गरेको जनाएको छ ।

मस्कोका क्षेत्रीय गभर्नर भोरोब्योभले मङ्गलबार रूसी राजधानी बाहिर नोभोसेल्की औद्योगिक क्षेत्रमा ड्रोन आक्रमण भएपछि ठूलो आगलागी भएको बताए । प्रारम्भिक जानकारीअनुसार पाँच जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने थप छ जना घाइते भएको उनले टेलिग्राममार्फत जनाए ।

ड्रोनले उत्तरपश्चिमी रूसको क्रास्नी–बोर नजिकैको गोदामलाई पनि क्षति पु¥याएको जनाइएको छ । ड्रोन आक्रमणमा एक व्यक्ति घाइते भएको लेनिनग्राड क्षेत्रीय गभर्नर अलेक्सान्डर ड्रोज्डेन्कोले बताए । आक्रमणबाट यसको क्रास्नी–बोर लजिस्टिक सुविधामा आगलागी भएको जनाइएको छ ।

युक्रेनको उत्तरपूर्वी क्षेत्र सुमीमा भएको रूसी आक्रमणमा दुई बालबालिका र एक वृद्ध महिलाको मृत्यु भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुखले मङ्गलबार बताएका छन् । ओलेग ग्रिगोरोभले टेलिग्राममा रातिको समयमा सुमीमा रूसी हवाई तथा बम आक्रमणमा दुई बालबालिका र एक वृद्ध महिलाको मृत्यु भएको बताए । उनका अनुसार बच्चाहरूको शव उनीहरूको घरको भग्नावशेषमुनिबाट बरामद गरिएको थियो ।

आवासीय र गैरआवासीय भवनहरूसहित सहरका नागरिक पूर्वाधारहरूमा छ वटा हवाई बमहरू प्रहार गरिएको ग्रिगोरोभले बताए ।

दक्षिणी युक्रेनको बन्दरगाह सहर माइकोलाइभमा भएको अर्को आक्रमणमा ८९ वर्षीया महिलाको मृत्यु भएको यस क्षेत्रका सैन्य प्रशासनका प्रमुख जियोर्जी रेसेटिलोभले जानकारी दिए ।

रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनविरुद्ध आफ्नो आक्रमण सुरु गरेदखि नियमित रूपमा क्रिमियन प्रायद्वीपसहितका विधिन्न क्षेत्रमा छिमेकी मुलुक युक्रेनलार्ई आक्रमण गरिरहेको जनाइएको छ । रासस