मध्यस्थकर्ता राष्ट्रहरूद्वारा गाजामा जारी इजरायली आक्रमणहरूको निन्दा


कायरो (इजिप्ट), १९ साउन । मध्यस्थकर्ता राष्ट्रहरूद्वारा गाजापट्टीमा विविध चुनौतीहरूको सामना गर्दै सङ्क्रमणबाट उत्रिने प्रयास गरिरहेको अवस्थामा जारी इजरायली आक्रमणहरूको निन्दा गरेका छन् । उनीहरूले चरम इजरायली आक्रमणले युद्धविराम सम्झौताको दोस्रो चरण कार्यान्वयन गर्ने प्रयासलाई कमजोर बनाई द्वन्द्व अन्त्य गर्न जारी कूटनीतिक प्रयासहरूलाई अर्थहीन बानएको बताएका छन् ।

गाजा युद्धविराम वार्ताका मध्यस्थकर्ता कतार, इजिप्ट र टर्कीले गाजा पट्टीमा चलिरहेको इजरायली आक्रमण तथा युद्धविराम उल्लङ्घनको प्रवृतिको कडा निन्दा गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

मध्यस्थकर्ताहरूले स्वास्थ्य सेवा सुविधाहरू र चिकित्सा पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्दा नागरिक हताहत भएको, अन्तरराष्ट्रिय कानुन र अन्तरराष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लङ्घन भएको कुरामा जोड दिएका छन् ।

उनीहरूले इजरायललाई अन्तरराष्ट्रिय कानुनअन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्न र युद्धविराम सम्झौताअन्तर्गत आफ्ना प्रतिबद्धताहरू पूर्णरूपमा कायम राख्न आह्वानसमेत गरेका छन् । मध्यस्थकर्ताहरुले नागरिक, चिकित्सा सुविधाहरू र मानवीय कर्मचारीहरूको सुरक्षा सुनिश्चित गरी मानवीय सहायता र चिकित्सा आपूर्तिहरू कुनै पनि अवरोधबिना वितरण गर्नुपर्नेमा जोड दिए छन् ।

मध्यस्थकर्ता देशहरूले अन्तरराष्ट्रिय समुदायलाई युद्धविराम सम्झौता कार्यान्वयन गर्न इजरायलमाथि आवश्यक दबाब दिन पनि आग्रह गरेका छन् ।

सप्ताहन्तमा गाजापट्टीमा इजरायली आक्रमणका कारण बालबालिका र नागरिकहरूसहित दर्जनौँ मानिसहरूको ज्यान लिएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (कोअर्डिनेशन अफ ह्युमेनिटेरियन अफेयर्स) ले जनाएको छ ।

गाजामा नागरिक रक्षाका प्रवक्ता महमुद बासलले इजरायली ड्रोन र हेलिकप्टरहरूले उत्तरीदेखि दक्षिणी गाजाका विभिन्न क्षेत्रमा आवासीय भवन विस्थापितका शिविरहरु र नागरिक सवारी साधन र जमघटलाई लक्षित गरी १० वटा भन्दा बढी हवाई आक्रमण गरेको बताएका छन् ।

यसैबीच प्रेस वक्तव्य जारी गर्दै हमासले युद्धविराम सम्झौताका मध्यस्थकर्ता देशहरूलगायतका सहयोगीहरुलाई आफ्नो जिम्मेवारी ग्रहण गर्न, प्यालेस्टिनी जनता विरुद्धको इजरायली अपराधको निन्दा गर्न र सम्झौताअनुसार इजरायललाई आफ्नो आक्रमण रोक्न दबाब दिन तत्काल कारबाही गर्न आह्वान गरेको जनाइएको छ ।

प्यालेस्टिनी अधिकारीहरूले इजरायलले युद्धविरामको प्रयासलाई कमजोर पारेको आरोप पनि लगाएका छन् । प्यालेस्टिनी राष्ट्रपतिका प्रवक्ता नाबिल अबु रुदिनेहले सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न आग्रह गर्दै कागजी सम्झौता भए पनि इजरायलले प्यालेस्टिनी भूमिमा आक्रमण जारी राखेकोमा दुखः व्यक्त गरेका छन् ।

प्यालेस्टाइन मुक्ति सङ्गठनको कार्यकारी समितिका सदस्य अहमद मजदलानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि राजनीतिक प्रगतिमा बाधा पु¥याएको र गाजाबाट इजरायली सेनाको फिर्तीमा ढिलाइ गरेको आरोप लगाएका छन् ।

गाजाको भविष्यका लागि नयाँ कूटनीतिक प्रयासका बीच पछिल्लो घटनाक्रम आएको जनाइएको छ । ‘शान्ति बोर्ड’ ले गाजाका लागि उच्च प्रतिनिधि निकोले म्लादेनोभले नेतान्याहुसँग हमासको निःशस्त्रीकरण र नागरिक शासनतर्फ सङ्क्रमणसम्बन्धी प्रस्तावित सम्झौतामा छलफल गर्न भेटवार्ता गरेको जनाएको छ ।

एक प्रेस वक्तव्यमा बोर्डले बैठकलाई रचनात्मक र विस्तृत प्रयास भन्दै दुवै पक्षले हतियार त्याग्ने र बन्दुकको शासनबाट नागरिक शासनमा रूपान्तरण गर्ने अन्तिम समझदारी गरेको उल्लेख गरेको छ ।

सम्झौताको कार्यान्वयन अन्तरराष्ट्रिय स्थिरीकरण बल र कार्यान्वयन प्रमाणीकरण समितिले निरीक्षण गर्ने बोर्डले जनाएको छ । यसमा संयुक्त राज्य अमेरिका र ‘शान्ति बोर्ड’ का प्रतिनिधिहरू सहभागी हुनेछन् ।

सम्झौताको पूर्ण कार्यान्वयनतर्फको प्रगति सहमतिको ढाँचाअन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्ने सबै पक्षहरूमा निर्भर रहेको बताइएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘शान्ति बोर्ड’ गाजामा हमास र अन्य सबै सशस्त्र समूहहरूको ‘पूर्ण निःशस्त्रीकरण’ गर्ने सम्झौतामा पुगेको बताएका थिए ।

यसैगरी हमासले वार्तापछि गाजा युद्धविराम सम्झौताको दोस्रो चरणका लागि नवीन मार्गदर्शनमा सहमत भएको बताएको थियो ।

गाजाका स्वास्थ्य अधिकारीहरूले यस वर्षको अहिलेसम्मको सबैभन्दा घातक महिनाका रूपमा जुलाई भएको भन्दै यस महिनामा दर्जनौँ नागरिकसहित १५० जना भन्दा बढी मानिसहरुको मृत्यु भएको बताएका छन् । रासस